काठमाडौं । सरकारले विदेशबाट आयात हुने तरकारीसहित खाद्यान्नमा विषादि मात्राको परीक्षण गर्ने निर्णय गरेको छ । भारतबाट आयात हुने तरकारी सहित खाद्यान्नको विषादी परीक्षण रोकेको भन्दै आलोचना भएपश्चात मन्त्रिपरिषद् बैठकले भोलिदेखि नै कार्यान्वयन गर्ने गरी परीक्षण गर्ने निर्णय गरेको हो ।
कृषि तथा पशुपंक्षीमन्त्री वेदुराम भुसालका अनुसार मंगलबारको मन्त्रिपरिषद्ले तरकारी र खाद्यान्न जाँच सम्बन्धी कार्यविधि पारित गरेको छ । मन्त्रालयका विभिन्न विभागद्वारा सञ्चालित ल्याबहरूमा तरकारी र खाद्यान्नमा रहेको विषादी जाँच गरिने कार्यविधिमा उल्लेख छ ।
तरकारी, फलफूल तथा अन्य बालीमा करिब ३० समूहका विषादी प्रयोग हुने गरेका छन् । तर, त्यसको कति मात्रा प्रयोग भएको छ भन्ने जाँच नै नगरी भारत लगायत अन्य मुलुकबाट आयात हुने गरेको थियो । अब सरकारले विदेशबाट आयात हुने तरकारी र खाद्यान्नको विषादी जाँच गरेर ल्याउन दिने भएको छ ।