काठमाडौं । नेपालका लेगस्पीनर सन्दीप लामिछानेले एकदिवसीय अन्तर्राष्ट्रिय क्रिकेटमा सबैभन्दा छिटो १०० विकेट लिने विश्व कीर्तिमान बनाएका छन् । एसीसी प्रिमियर कप अन्तर्गत ओमान विरुद्ध भइरहेको खेलमा सन्दीपले एक विकेट लिएपछि अफगानिस्तानका प्रख्यात बलर रासिद खानलाई पछि पार्दै ४२ खेलमै १०० विकेट लिएर कीर्तिमान बनाएका हुन् ।
रासिदले ४४ ओडीआईमा १०० विकेट लिएर सन् २०१८ मा विश्व कीर्तिमान बनाएका थिए । त्यसलाई तोडेर सन्दीपले ४२ ओडीआइमा सय विकेट लिएका छन् । सन्दीपले ओमानका अदिल शफिक लाई आउट गर्दै ऐतिहासिक उपलब्धि हात पारे । नेपाल र ओमान दुवै ओडीआई राष्ट्र भएकाले आजको खेल एकदिवसीय मान्यता प्राप्त छ ।
ओमानविरुद्ध आफ्नो पहिलो ओभरमै सन्दीपले विकेट लिएका हुन् । १२ औं ओभरको तेस्रो बलमा उनले ओमानका ब्याट्सम्यान अदिल सफिकलाई एलबिडब्लयू धरापमा पारे ।