काठमाडौं । गण्डकी प्रदेशका मुख्यमन्त्री खगराज अधिकारी पदमुक्त भएका छन् । मुख्यमन्त्री अधिकारीले शनिबार प्रदेशसभासमक्ष राखेको विश्वासको मत प्राप्त गर्नेसम्बन्धी प्रस्तावको पक्षमा भन्दा धेरै मत विपक्षमा परेकाले उनी पदमुक्त भएका हुन् ।
मुख्यमन्त्री अधिकारीले शनिबार आफूलाई प्रदेशसभामा विश्वासको मत छ भनेर राखेको प्रस्ताव बहुमतले अस्वीकृत भएको हो । गण्डकी प्रदेशसभामा उनले विश्वासको मत माग्दा ६० प्रदेशसभा सदस्यमध्ये उनको पक्षमा २४ जना मात्र रहे । विश्वासको मत पाउन कम्तीमा ३१ सांसदको समर्थन जुटाउनुपर्नेमा अधिकारीले एमाले र राप्रपाका सांसदको गरी २४ मत मात्र पाएका थिए । नेकपा एमाले, नेकपा माओवादी केन्द्र र राप्रपाका सांसदको समर्थनमा २५ पुसमा मुख्यमन्त्री बनेका अधिकारी करिब साढे ३ महिना पदमा रहे ।
केन्द्रमा सत्ता समिकरण फेरेपछि माओवादीले मुख्यमन्त्री अधिकारीलाई दिएको समर्थन फिर्ता लिएको थियो । माओवादीले समर्थन फिर्ता लिएको ३० दिन भित्र विश्वासको मत लिनुपर्ने प्रावधान रहेपनि उनले विश्वासको मत पाउन सकेन् ।