काठमाडौं । रोजगार अनुमति प्रणाली ईपीएस अन्तर्गत दक्षिण कोरियाका लागि कृषि तथा पशुपालनतर्फ दोस्रो चरणमा लिइएको भाषा परीक्षाको नतिजा सार्वजनिक भएको छ ।
सन् २०२३ मा कृषि तथा पशुपालनतर्फ ईपीएसमार्फत रोजगारीका लागि दक्षिण कोरिया जानका लागि परीक्षा दिएका आठ हजार ३८० जनाको नतिजा सार्वजनिक भएको हो । गत ०७९ फागुन २३ देखि २०८० वैशाख १३ सम्म सञ्चालन भएको भाषा परीक्षाको नतिजा शनिबार सार्वजनिक भएको वैदेशिक रोजगार विभागले जनाएको छ ।
वैदेशिक रोजगार विभागअन्तर्गतको रोजगार अनुमति प्रणाली ईपीएस शाखाका अनुसार दोस्रो चरणमा सात हजार ७५७ जनाका लागि लिइने परीक्षाका लागि २६ हजार ८७६ जनाले आवेदन दिएका थिए । त्यसमध्ये २४ हजार ३२६ जना सहभागी थिए ।