काठमाडौं । लोकसेवा आयोगले आवेदकको तथ्यांक डाटा हराएपछि पुनः दरखास्त आह्वान गर्ने भएको छ । राष्ट्रिय सूचना प्रविधि केन्द्रको सर्भरमा देखिएको समस्याका कारण आवेदकको तथ्यांक डाटा हराएपछि आयोग समस्यामा परेको हो ।
विभिन्न विज्ञापनमा दरखास्त दिएका आवेदकको विवरण आयोगसँग सुरक्षित रहेकाले त्यसैका आधारमा दस्तुर तिरिसकेका उम्मेदवारलाई मात्र उचित समय प्रदान र थप दस्तुर तिर्न नपर्ने गरी पुनःदरखास्त आह्वान गर्ने आयोगले प्रेस विज्ञप्ति जारी गरी जनाकारी दिएको छ ।
अघिल्लो वर्ष मङ्सिरमा प्रकाशित राजपत्रांकित तृतीय श्रेणी अप्राविधिक शाखा अधिकृत वा सो सरहको पदको विज्ञापन, पुसमा प्रकाशित राजपत्र अनंकित प्रथम श्रेणी अप्राविधिक नायब सुब्बा वा सो सरह पदको विज्ञापन र माघमा प्रकाशित राजपत्र अनंकित प्रथम श्रेणी प्राविधिक नायब सुब्बा वा सो सरहको र स्वास्थ्य सेवातर्फ पाँचौँ तहको पदको विज्ञापनमा पेश भएका दरखास्तसम्बन्धी विवरणमा पहुँच पाउन नसकेको आयोगले जनाएको छ ।
उक्त विज्ञापनका परीक्षा कार्यक्रम परिमार्जन गरी यथाशिघ्र नयाँ परीक्षा प्रकाशन गर्ने प्रक्रियामा आयोग रहेको प्रेस विज्ञप्ति उल्लेख गरेको छ ।