काठमाडौं । उपप्रधान एवं गृहमन्त्री नारायणकाजी श्रेष्ठले भ्रष्टाचारमा संलग्नलाई नछोड्ने चेतावनी दिएका छन् । बुधवार काठमाडौंमा आयोजित निर्मल लामा स्मृति प्रतिष्ठानको कार्यक्रमलाई सम्बोधन गर्दै उनले यस्तो चेतावनी दिएका हुन् ।
उनले देशमा थुप्रै समस्या रहेको र कमिसन र भ्रष्टाचारले देश जर्जर बनाएको उल्लेख गरे। उनले कमिसनखोर र भ्रष्टाचारीलाई कारबाही गर्न आफू पछि नहट्ने स्पष्ट पारे । उनले खाडीमा काम गर्न गएका ३० लाख नेपालीलाई स्वदेशमै रोजगारी सिर्जना गर्न भ्रष्टाचारीलाई कारबाही गर्नुको विकल्प नरहेको बताए। उनले निर्दोष व्यक्ति डराउनुपर्ने आवश्यकता नरहेको पनि उल्लेख गरे ।
उनले भने, ‘हाम्रो देशमा अरू थुप्रै समस्या छन्। कमिसन र भ्रष्टाचारले देश जर्जर छ । कमिसनखोर र भ्रष्टाचारीलाई कारबाही गर्नुपर्छ र सामाजिक आर्थिक रूपान्तरणको प्रक्रिया तीव्र पार्नुपर्छ।’ गृहमन्त्री श्रेष्ठले भ्रष्टाचारीमाथि कारबाहीको मुद्दालाई अहिलेको सरकारले मूल मुद्दा बनाएको बताए ।