काठमाडौं । नक्कली भुटानी शरणार्थी प्रकरणमा मुछिएपछि फरार रहेका पूर्वउपप्रधानमन्त्री तथा नेकपा एमाले नेता टोपबहादुर रायमाझी पक्राउ परेका छन् । प्रहरी उच्च स्रोतका अनुसार उनलाई बुढानीलकण्ठबाट आइतबार साँझ नियन्त्रणमा लिइएको हो। उनी ११औं दिनमा पक्राउ परेका हुन्। उनले प्रहरीसामु आत्मसमर्पण गरेका हुन् ।
यसअघि प्रहरीको विशेष टोलीले मंगलबार ललितपुरको सातदोबाटोस्थित उनको घरमा छापा मारेको थियो। सांसद समेत रहेका रायमाझी नक्कली भुटानी शरणार्थी प्रकरणमा मुछिएपछि प्रहरीले पक्राउ पुर्जी जारी गरेको थियो। वैशाख २० गते पक्राउ पूर्जी जारी भएसँगै उनी सम्पर्कविहीन भएका थिए ।
नक्कली भुटानी शरणार्थी बनाएर ठगेको प्रकरणमा रायमाझीका छोरा सन्दीप रायमाझीलाई यसअघि नै बुटवलबाट पक्राउ गरिसकेको छ भने यही प्रकरणमा पूर्वगृहमन्त्री बालकृष्ण खाणसमेत पक्राउ परिसकेका छन् । काठमाडौं जिल्ला अदालतले नक्कली भुटानी शरणार्थी प्रकरणमा पक्राउ परेका १२ जनालाई थप चार दिन हिरासतमा राख्न अनुमति दिएको छ ।