काठमाडौं । एमाले सांसद रघुजी पन्तले प्रधानमन्त्रीको भारत भ्रमण सरिरहने, तर पूर्व राजालाई स्वागत गर्ने प्रवृत्ति देखा परेको भन्दै प्रेसर कूटनीतिको संज्ञा दिएका छन् । सोमबारको प्रतिनिधिसभा बैठकमा सम्बोधन गर्ने क्रममा सांसद पन्तले प्रधानमन्त्रीको भारत भ्रमण सरिरहेकोमा आशंका व्यक्त गर्दै यस्तो बताएका हुन् । साथै उनले भारतको त्यस्तो दबाबमूलक कूटनीतिमा नेपाल पर्न नुहुनेमा संसदमार्फत सरकारको ध्यानाकर्षण गराएका छन् ।
नेपालका प्रधानमन्त्रीको भारत भ्रमणपछि धकेलेर भारतले नेपाली जनताले हटाएका पूर्व राजालाई बोलाएर स्वागत गरेको भन्दै त्यसतर्फ सरकारले सोच्नुपर्ने बताए । उनले पूर्व राजालाई स्वागत गर्ने क्रममा भारतका मुख्मन्त्रीहरुले दिएको अभिव्यक्ति अत्यन्त आपत्तिजनक रहेको भन्दै प्रेसर डिप्लोमेसी त्यही भएको बताएका हुन् ।
उनले प्रेसर डिप्लोमेसिमा नेपालको सरकार पर्न नहुने भन्दै नेपाल आजसम्म पराधीन नभएको बताए । नेता पन्तले नेपालको स्वाभिमान, आर्थिक स्वतन्त्रता, सार्वभौम सत्ता र अखण्डतालाई ध्यानमा राखेर, लिपुलेक, लिम्पियाधुरालाई फिर्ता ल्याउने गरी भारत भ्रमण गर्न प्रधानमन्त्री प्रचण्डलाई उनले आग्रह गरेका छन् । सांसद पन्तले भारतको प्रेसर कूटनीतिमा नपर्न प्रचण्डलाई सचेत समेत गराएका छन् ।