काठमाडौं । दाङको देउखुरीमा दुई वटा बस ठोक्किँदा एक जनाको मृत्यु भएको छ भने २० जनाभन्दा बढी घाइते भएका छन् । रोल्पा रुन्टीगढी–७ की ४२ वर्षीया शोभा परियारको मृत्यु भएको प्रहरीले जानकारी दिएको छ। उनका दुई छोरा पनि दुर्घटना घाइते भएका छन् ।
लमहीबाट भालुवाङतर्फ जाँदै गरेको लु २ ख ७८५ नम्बरको बस र वीरगञ्जबाट दाङको तुलसीपुर आउँदै गरेको ना ५ ख ४८९८ नम्बरको बस लमही नगरपालिका–३ फल्कापुरमा ठोक्किएको जिल्ला प्रहरी कार्यालय दाङका नायब उपरीक्षक राजनकुमार गौतमले बताए । बारा जिल्लाबाट इँटा भट्टामा काम गरेर घर रोल्पा फर्किँदै गरेका मजदुर सवार बस दुर्घटनामा परेको हो ।
दुर्घटनामा घाइते भएकामध्ये ११ जनाको अवस्था गम्भीर रहेको दाङ प्रहरीले बताएको छ। लु २ ख ७८५ नम्बरका चालक तुल्सीराम रामिजाल गम्भीर घाइते भएका छन् । घाइतेहरूलाई उपचारका लागि बुटवल र नेपालगञ्ज पठाएको प्रहरीले जनाएको छ ।