काठमाडौं । नक्कली भुटानी शरणार्थी प्रकरणमा पक्राउ परेका १६ जनामाथि थप दुई दिन हिरासतमा राख्न जिल्ला अदालत काठमाडौंले अनुमति दिएको छ । अदालतले पूर्वउपप्रधानमन्त्री टोपबहादुर रायमाझी, पूर्वगृहमन्त्री बालकृष्ण खाण, नेपाल सरकारका सचिव टेकनारायण पाण्डेसहित हिरासतमा रहेका सबैमा अनुसन्धान गर्न थप दुई दिन हिरासतमा राख्न म्याद थप गरेको हो ।
नक्कली शरणार्थी प्रकरणमा कांग्रेसका पूर्वसांसद आङटावा शेर्पा, तत्कालीन गृहमन्त्री रामबहादुर थापाका सल्लाहकार इन्द्रजीत राई, मोरङका केशव दुलाल, ललितपुरका सानु भण्डारी, मोरङका सागर थुलुङ राई, खाणका तत्कालीन स्वीकय सचिव नरेन्द्र केसी, रायमाझीका छोरा सन्दीप, पाँचथरका टंक गुरुङ, दाङका सन्देश शर्मा पोखरेल, सुनसरीका गोविन्द चौधरी, काठमाडौंका रामशरण केसी पक्राउ परिसकेका छन् ।
त्यसैगरी केशव दुलाल, सानु भण्डारी, सन्देश शर्मा, सागर राई, टंक गुरुङ, गोविन्द चौधरी र रामशरण केसी पनि प्रहरी हिरासतमा छन् भने पूर्वगृहमन्त्री रामबहादुर थापा बादलका छोरा प्रतीक र इन्द्रजित राईका छोरा निरजलगायत भने फरार छन् ।