काठमाडौं । नविल बैंकले एकसाथ ३८ वटा शाखा सञ्चालनमा ल्याएको छ । बिहीबार बैंक स्थापना भएको ३८ वर्ष पूरा भएको अवसरमा काठमाडौंमा एक कार्यक्रम गरी देशैभरका ३८ नयाँ शाखाको उद्घाटन गरेको हो ।
बैंकले नविल बैङ्क अब तपाईँसँग अझै नजिक भन्ने नाराका साथ सरल र सबल बैङ्किङ सेवा प्रदान गर्न सातै प्रदेशमा शाखा विस्तार गरिरहेको छ । कार्यक्रममा बोल्दै बैंकका अध्यक्ष उपेन्द्र पौडेलले नविल बैंकको सेवामा धेरै भन्दा धेरै डिजिटल टेक्नोलोजीहरू प्रयोग गरेर सेवा दिने प्रयास गरिरहेको बताउनुभयो ।
बैंकका अध्यक्ष पौडेलले बैंकको देशभर एकैसाथ ३८ वटा शाखा विस्तार गर्ने विषय सजिलो नरहेको जानकारी दिनुभयो । उहाँले आफूले काम गर्ने समयमा निजी क्षेत्रका बैङ्कहरूको शाखाहरू एकदमै कम भएको तर सरकारी बैंकका शाखा धेरै भएको बताउनुभयो । डिजिटल प्रविधिको कारणले बैंकहरूको धेरै शाखा र कम कर्मचारी भए पनि शाखा सञ्चालन गर्न सकिएको बताउनुभयो ।
बैंकका अध्यक्ष पौडेलले सरकार र राष्ट्र बैंकले मुलुकमा वित्तीय साक्षरता बढाउँदै जानुपर्ने भनाइ राख्नुभयो । अध्यक्ष पौडेलले अब बैङ्किङ क्षेत्र बरोइङ र नाफामा मात्रै अगाडि बढ्न नसक्ने बताउनुभयो । उहाँले अबको बैङ्किङ आफ्ना लागि भन्दा पनि समाज र राष्ट्रका लागि गरेको योगदानको मापन गर्नुपर्ने अवस्था रहेको औँल्याउनुभयो । उहाँले बैंकका निक्षेपकर्ताहरुले आफूले बैंकमा राखेको पैसा के मा लगानी लगाइको छ भनेर जानकारी दिनु पर्ने बेला आएको भनाइ व्यक्त गर्नुभयो ।