काठमाडौं । भारत सरकारले उपहारस्वरुप दिन लागेका मुर्रा जातका राँगालाई पोखरा र लहानमा राखिने भएको छ । नेपाल ल्याएपश्चात् ती राँगालाई पशु सेवा विभागअन्तर्गत पोखरा र लहानमा कृत्रिम गर्भाधानका लागि प्रजनन् केन्द्रमा राखिने भएको हो ।
प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डको भारत भ्रमणका क्रममा भारतले नेपाललाई १५ वटा मुर्रा जातका राँगा दिने सम्झौता भएको छ । विभागका अनुसार नेपालमा मुर्रा जातका भैँसीहरु अहिले पनि पालिएका छन् । लामो समयदेखि एउटै प्रकारले प्रजनन् भइरहकेकाले नश्ल सुधारका लागि उन्नत जातका राँगा ल्याउन नेपालले लामो समयदेखि प्रयास गरिरहेको थियो ।
पोखरा र लहानमा रहेका प्रजनन् केन्द्रबाट मुर्राको वीर्य उत्पादन तथा वितरण गरी विभिन्न सरकारी कृषि फार्महरुमा पुर्याइनेछ । यसबाट नेपाली भैँसीहरुको नश्ल सुधार तथा दूधको उत्पादन पनि बढाउन सकिने अपेक्षा लिएको छ ।