काठमाडौं । युक्रेनले रुसभित्र जासुसी संजाल निर्माण गरी महत्वपूर्ण स्थानलाई लक्षित गर्दै विध्वंसात्मक कार्य गरिरहेको अमेरिकी गुप्तचर निकायले दाबी गरेको छ । रुसभित्र विध्वंसात्मक गतिविधि संचालन गर्न युक्रेनले उक्त संजाललाई ड्रोन आपूर्तिसमेत सुरु गरेको गुप्तचर निकाय स्रोतलाई उद्धृत गर्दै सीएनएनले जनाएको छ ।

युक्रेन समर्थक एजेन्टहरुले नै गत मे महिनाको सुरुमा रुसी राष्ट्रपतिको निवास क्रेमलिन लक्षित ड्रोन आक्रमण गरेको अमेरिकी अधिकारीहरुको विश्वास रहेको उक्त रिपोर्टमा उल्लेख गरिएको छ । तर मस्कोको आवासीय क्षेत्र र दक्षिणी रुसका तेल प्रशोधन केन्द्रमा पछिल्ला दिनमा गरिएका ड्रोन आक्रमणमा सोही संजालको हात भए नभएको बारे भने स्पष्ट नरहेको समाचारमा जनाइएको छ। रुसभित्र ड्रोन पठाउन तस्करीका पूर्वस्थापित मार्गहरुको प्रयोग गरिएको बताइएको छ ।

रुसले युक्रेनमा युद्ध जारी राखिरहँदा गत वर्षदेखि रुसभित्रैका केही स्थानमा रहस्यमय आगलागी र विस्फोटका घटना भएका थिए । पछिल्ला समयमा आएर यस्ता घटनामा वृद्धि भएको र यसले रुसी नागरिकमा मानसिक त्रास उत्पन्न गराएको विश्लेषण गरिएको छ । यसैबीच युक्रेनसँग सीमा जोडिएको रुसको पश्चिमी सहर बेलगोरोडभित्र छिर्न खोजेका १० भन्दा बढी युक्रेनी लडाकुलाई हवाई आक्रमण गरी मारेको मस्कोले जनाएको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here