सर्लाही । बलिराखेको चिताबाट आधा शरीर जलिसकेको अवस्थामा महिलाको शव प्रहरीले बरामद गरेको छ । इलाका प्रहरी कार्यालय हरिपुरबाट प्रहरी निरीक्षक विजय कुँवरको नेतृत्वमा खटिएको प्रहरी टोलीले महिलाको शव आज बरामद गरेको हो ।
सर्लाहीको हरिपुर नगरपालिका –६, लक्ष्मीपुरमा घरायसी विवादमा श्रीमान राजाराम साहले कुटपिट गर्दा श्रीमती ४५ वर्षकी इन्द्रकलादेवी साहको मृत्यु भएको थियो । जेठ २२ गते राजारामले कुटपिट गर्दा गम्भीर घाइते भएकी इन्द्रकलाको शनिबार बिहान मृत्यु भएको थियो । इन्द्रकलालाई सुरुमा उपचारका लागि नवलपुरस्थित एक अस्पतालमा लगिएको थियो । नवलपुरमा सामान्य उपचार गरेर वीरगञ्ज लगिएको थियो ।
वीरगञ्जमा उपचार गरी २३ गते राति घर ल्याइएको गाउँलेको भनाइ छ । घरमा ल्याउनासाथ पुनः स्वास्थ्यमा समस्या देखिएपछि २४ गते उहाँलाई फेरि उपचारका लागि जनकपुर अस्पताल लगिएको थियो । जनकपुरमा उपचार गरिरहँदा स्वास्थ्य अवस्था जटिल बनेको भन्दै शनिबार बिहान घरतर्फ ल्याउनेक्रममा महिलाको बाटोमा मृत्यु भएको स्थानीयले बताए । मृतकको शव शनिबार मध्यान्ह गाउँमा ल्याएर लखन्देही खोलामा अन्त्येष्टि गरिरहेका बेला प्रहरीले महिलाको शव बरामद गरेको स्थानीयले बताएका छन् ।
महिलाको शव मृतककी छोरी, ज्वाँइलगायत केही आफन्तले प्रहरीमा उजुरी दिएपछि प्रहरीले शव बरामद गरेको बुझिएको छ । इलाका प्रहरी कार्यालय हरिपुरबाट प्रहरी निरीक्षक विजय कुँवरको नेतृत्वमा खटिएको प्रहरी टोलीले महिलाको शव आज बरामद गरेको हो । कुटपिट घटनामा संलग्न महिलाका श्रीमानसहित ६ जनालाई प्रहरीले नियन्त्रणमा लिएको जनाएको छ । घटनाबारे थप अनुसन्धान भइरहेको सर्लाही प्रहरीका प्रमुख नरेशराज सुवेदीले जानकारी दिए ।
उनका अनुसार गम्भीर घाइते महिलालाई डाक्टरले अस्वीकार गर्दा गर्दै जवरजस्ती घरमा ल्याएको देखिन्छ । चिताबाट बरामद गरिएको मृतक महिलाको शव पोष्टमार्टमका लागि प्रादेशिक अस्पताल मलङ्गवामा राखिएको सुवेदीले बताए । कुटपिटमा इन्द्रकलाका श्रीमान राजाराम भने फरार भएका छन् । उनको खोजी भइरहेको सुवेदीले बताए ।