काठमाडौं । सरकारले कृषिजन्य उपज तथा आलु, प्याजमा मूल्य अभिवृद्धि कर भ्याट लगाउने घोषणा गरेसँगै प्याजको मूल्य अस्वभाविक महंगो भएको छ । सरकारको घोषणासँगै भारतबाट आलु र प्याजको आयात ठप्पप्राय बनेको छ । जसका कारण अहिले बजारमा आलु र प्याजको मूल्य ह्वात्तै बढेको छ ।
हाल उपभोक्ता बजारमा प्याजको मूल्य तरकारी बजारमै प्रतिकिलो १०० रुपैयाँमा खरिद बिक्री भईरहेको छ । जब कि गत शुक्रबारसम्म प्याजको मूल्य प्रतिकिलो ४५ रुपैयाँ रहेको थियो । तर, तरकारी बजारभन्दा बाहिर भने हाल प्याजको भाउ प्रतिकिलो १ सय २० रुपैयाँ पुगेको छ ।
सरकारले आलु, प्याजमा मूल्य अभिवृद्धि कर लगाउने घोषणा गरेसँगै आलु र प्याजको आयाता ठप्प भएको तरकारी व्यवसायीहरु बताउँछन् । उनीहरुका अनुसार बजारमा नयाँ आलु र प्याजको आयात नहुँदा प्याज र आलुको मूल्य आकाशिएको हो । कृषि उपज तथा आलु, प्याजमा भ्याट लगाउने प्रावधान यथास्थितिमा रहिरहे महंगी थप बढ्ने व्यवसायीहरुको भनाई रहेको छ ।