म्याग्दी । प्रसिद्ध धार्मिकस्थल गलेश्वर धामलाई विश्वसम्पदा सूचीमा राख्न म्याग्दीको बेनी नगरपालिकाले पहल शुरु गरेको छ । नगरपालिकाको वडा नं। ९ मा पर्ने धामलाई विश्वसम्पदा सूचीमा सूचीकृत गर्न नगरले पहल र संघीय सरकारसँग समन्वय गरिरहेको नगरप्रमुख सुरत केसीले बताए ।
‘गलेश्वर धाम ऐतिहासिक, पर्यटकीय एवं धार्मिक स्थल भएकाले विश्व सम्पदामा सूचीकृतका लागि नगरपालिकाले आवश्यक प्रक्रिया अपनाई समन्वय र पहल गर्दैछौं’ नगरप्रमुख केसीले भने। विश्व सम्पदामा सूचीकृत गर्न नगरले आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रम र बजेटमा समावेश गरिएको उनले बताए ।
गलेश्वर धाम एउटै चक्रशिलामा अवस्थित छ। १९ औँ शताब्दीको अन्त्यतिर गलेश्वर बाबा नाम गरेका एक जना साधुले सानो कुटी र सानो कच्ची मन्दिर बनाई त्यस क्षेत्रमा बस्न थालेपछि गलेश्वर तीर्थस्थलको रूपमा चिनिँदै जान थालेको बताइन्छ । पौराणिक कथनअनुसार बाबु दक्ष प्रजापतिको यज्ञमा हाम फालेर प्राणत्याग गरेकी सतीदेवीको शव काँधमा बोकेर हिँड्दै गर्दा गला पतन भएको र त्यस ठाउँको नाम गलेश्वर नाम रहेको स्कन्द पुराणमा उल्लेख छ ।
लामो खडेरीमा पनि कहिल्यै पानी नसुक्ने र ठूलो वर्षामा पनि पानीको सतह घटबढ नहुने ढुङ्गामा मूल उम्रेर बनेको बराहा पोखरी, विशाल चट्टानमा जगविना नै निर्माण गरिएको भगवान शिवजीको मन्दिर, विष्णु मन्दिर, हवन कुण्ड, १०८ शिवलिंग, साँढेका विशाल मूर्ति, घण्ट यहाँका मुख्य आकर्षण हुन्। पछिल्लो समययता गलेश्वरमा भारतीय धार्मिक पर्यटकको पनि सख्या वृद्धि हुन थालेको छ ।