काठमाडौं । आइएमई लाइफ इन्सुरेन्सको आज बिहीबार असार २१ गतेदेखि सर्वसाधारणलाई प्रिमियम भाउमा आइपीओ खुला भएको छ । कम्पनीले आफ्नो जारी पुँजी ४ अर्ब रुपैयाँको ३०५ ले हुन आउने कुल १ अर्ब २० करोड रुपैयाँ बराबरको आइपीओ बिक्रीमा ल्याएको हो ।
कम्पनीले प्रतिकित्ता १३६ रुपैयाँ ९१ पैसा प्रिमियम थप गरेर २३६ रुपैयाँ ९१ पैसाका दरमा १ करोड २० लाख कित्ता आइपीओ बिक्री गर्दैछ । यसमध्ये १२ लाख कित्ता सेयर वैदेशिक रोजगारीमा रहेका नेपालीहरुलाई निष्कासन भइसकेको छ । ६ लाख कित्ता सेयर कर्मचारी र ६ लाख कित्ता सेयर सामूहिक लगानी कोषका लागि सुरक्षित गरिएको छ । सर्वसाधारणले बाँकी रहेको ९६ लाख कित्ता सेयरका लागि आवेदन दिन सक्नेछन् ।
सर्वसाधारण लगानीकर्ताले यसमा असार २५ गतेसम्म आवेदन दिन सक्नेछन् । सो अवधिमा सबै सेयर बिक्री नभएमा साउन ४ गतेसम्म आवेदन दिन सक्ने कम्पनीले जनाएको छ । यसमा न्यूनतम १० कित्तादेखि अधिकतम १० हजार कित्ताका लागि आवेदन दिन सकिनेछ । लगानीकर्ताले सी–आस्वा प्राप्त बैंक तथा वित्तीय संस्था तथा मेरो सेयरमार्फत सेयर भर्न सक्नेछन् ।