भक्तपुर । धाँं बाजा (एक प्रकारको बाजा) प्रशिक्षण पूरा गरेका एक समूह सार्वजनिक भएको छ । परम्पराअनुसार प्रशिक्षण पूरा भएपछि सार्वजनिक स्थानमा बाजा बजाएर प्रदर्शन गर्ने चलन अनुसार भक्तपुर नगरपालिका वडा नं ८ लिवालिस्थित नियो निओ फियुजन कम्प्युटर इन्टिच्युटबाट तालिम प्राप्त प्रशिक्षण टोली सार्वजनिक भएका हुन् ।
यही क्रममा उनीहरुले परम्परा अनुसार भक्तपुर नगरपालिका वडा नं ९ दतात्रयस्थित नासद्य (देवस्थल) पुगेर सामूहिक रुपमा पूजाआजा गर्नुका साथै सार्वजनिक रुपमा बाजा बजाएर प्रदर्शन गरेका थिए । त्यस क्रममा उनीहरुले नगर परिक्रमा पनि गरेका थिए । यसअघि बाहिर नभई कक्षाकोठामा मात्रै बजाउने गरिन्थ्यो । प्रशिक्षण पूरा गरी आइतबार सार्वजनिक भएका बशिल त्वायनाले धाँं बाजाबारे धेरैलाई कम जानकारी भएकाले यसलाई बचाउन आफूले धाँ बाजा सिकेको सुनाए ।
उनले आफूलाई पुराना बाजाहरु मनपर्ने भएकाले दैनिक साँंझको समयको सदुपयोग गरी धाँं बाजा सिकेको सुनाए । त्वायनाकै समूहमा धाँं बाजा सिकेकी अर्की प्रशिक्षार्थी रेणु त्वानाबासुले पहिलापहिला पुरुषहरु मात्रै सिक्न पाइने बाजा अहिले जसले सिक्दा पनि हुने भएकाले आफूले सिकेको सुनाइन् । आफूलाई पनि धाँं बाजा बजाएर प्रदर्शनमा जान मन लागेकाले बाजा सिकेको उनको भनाई थियो । २०७६ सालदेखि नै निरन्तर धाँ बाजा सिकाउँंदै आएको बताउने भक्तपुर नगरपालिका वडा नं ८ लिवालिस्थित नियो निओ फियुजन बाजा समूहका अध्यक्ष बालकृष्ण बनमालाले पुराना बाजा बजाउने कला नयाँ पुस्तालाई हस्तान्तरण गर्ने हेतुले २०६८ सालदेखि धिमे बाजा सिकाउँदै आएको बताए । पछिल्लो पटक धाँं बाजाप्रति आकर्षण बढेकोले धाँं बाजा प्रशिक्षण पनि थपेको उनको भनाइ थियो । अहिले थप बासुरी, पछीमा (बाजाको नाम) को प्रशिक्षण पनि थप गरेको उनले बताए । उनले यी सवै तालिम शुल्क रुपमा चलाउँंदै आएका छन् । बाजा सिक्न कम्तीमा १०–१५ जनाको सहभागिता हुनुपर्ने हुन्छ । धाँ बाजा प्रशिक्षक सविन लैबाले ५ वर्षदेखि धाँ बाजा सिकाउँदै आएको बताए । टोलटोलमा र संघसस्थाहरुमा धाँ बाजा सिकाउँदै आएको उनी सुनाउँछन् ।
साथै उनले आफूले धाँ सिक्ने बेलासम्ममा कोही पनि महिला सहभागिता नभएको सम्झना गरे । तर अहिले यसमा पनि केही वर्षदेखि महिलाको सहभागिता बढ्दै आएको छ, उनी भन्छन् । विशेषगरी बाजागाजाको बेलुकीको समयमा सिकाइने प्रजलन रहेको उनी बताउँंछन् ।भक्तपुरका धिमे बाजाको प्रशिक्षक उगेन बोयजु लगभग १० वर्षदेखि टोलटोलमा तथा सघंसंस्थामा धिमेबाजा सिकाउदैँ आएको बताउँछन् । आफूले ११ वर्षमा सिकेर १२ वर्षको उमेरदेखि नै धिमेबाजा सिकाउन थालेको उनले उनले स्मरण गरे । अहिले धिमेबाजा सिक्न चाहनेहरुमा महिला पुरुषको सहभागिता बराबर जस्तै भएको उनी सुनाउँछन् ।संस्कृतिविद् ओम धौभडेल मनोरञ्जनका धेरै सामाग्रीहरु बजारमा प्रचलनमा आए पनि भक्तपुरका नयाँं पुस्तामा पुरानो बाजा सिकेर, बजाएर, सार्वजनिक प्रदर्शनी गरेर रमाउने गरेको बताउँंछन् । उनका अनुसार नयाँ पुस्ता पुराना बाजागाजा बजाउनमा रमाउने गरेका छन् । उहिले गुथी, दाफाभजनमा केटाहरुलाई मात्र बाजागाजा सिकाइथ्यो । तर अहिले सहकारी संस्था र विभिन्न बाजा समूहले केटाकेटी दुबैलाई बाजागाजा सिकाइराखेको छन्, उनी भन्छन् ।
केही वर्ष पहिला दाफा भजनबाट केटाहरुलाई मात्र सिकाउँदा बाजागाजा सिक्न आउनेको कमी र बाजागाजा नै लोभ हुने अवस्था सृजना भएको उनी सम्झिन्छन् । तर अहिले महिला पुरुष दुबैको सहभागिता भएपछि बाजागाजा हरेक घरका केटाकेटीहरु सहभागिता हुने गरेको पाइन्छ ।


























