कञ्चनपुर । शिक्षक तथा लेखापाल माथि कुटपिट गर्नेलाई कारबाहीको माग गर्दै तीन दिनदेखि कञ्चनपुरका विद्यालयहरू बन्द छन् । गत आइतबारदेखि सामुदायिक तथा संस्थागत विद्यालयहरू बन्द रहेका हुन् ।
विद्यालय बन्द आह्वान गर्दै शिक्षक कर्मचारीहरू तीन दिनदेखि सडकमा आन्दोलन गर्दै आएका छन् ।
भदौ ३ गते यौन दुर्व्यवहार आरोप लागेका शिक्षक विरेन्द्र प्रसाद जोशीमाथि विद्यालय प्रांगणमै कुटपिट भएको थियो । प्रहरी नियन्त्रणमा रहेका जोशीमाथि सामूहिक रूपमा ढुंगामुढा प्रहार हुनुका साथै कुटपिट गरिएको थियो ।
भीमदत्त नगरपालिका १० जिमुवामा रहेको शिद्धनाथ माविका शिक्षक जोशीमाथि कक्षा १० मा अध्ययनरत छात्राले आफ्नो संवेदनशील अंग समातेको आरोप लगाएकी थिइन् । उक्त आरोपपछि शिक्षक जोशीमाथि कारबाहीको माग गर्दै भदौ ३ गते विद्यालयमा विद्यार्थी, अभिभावक तथा स्थानीयले विरोध प्रदर्शन गरेका थिए । प्रदर्शनकै क्रममा प्रहरीको टोलीले शिक्षक जोशीलाई नियन्त्रणमा लिएको थियो । अफिसबाटै हतकडी लगाएर प्रहरीले आफ्नो भ्यानमा लैजाने क्रममा उनीमाथि निर्घात कुटपिट भएको थियो ।
विद्यालय तथा शिक्षक कर्मचारीहरूले जिल्लास्तरको आन्दोलन परिचालन समिति बनाएर आन्दोलन गर्दै आएका छन् । शिक्षकमाथि कुटपिट गर्नेलाई कारबाही गर्नुपर्ने, शिक्षकमाथि लागेको आरोपको छानबिन हुनुपर्ने, लापरबाही गर्ने प्रहरी अधिकारीमाथि कारबाही गर्नुपर्ने लगायतका माग राखेर आन्दोलन गर्दै आएका हुन् । उनीहरूले मंगलबार जिल्ला प्रशासन कार्यालयमा प्रदर्शन गर्नुका साथै धर्ना दिएका छन् ।


























