भोली शनिबारदेखि प्रदर्शनमा आउन लागेको फिल्म ‘पशुपति प्रसाद २ः भष्मे डन’को आक्रामक बुकिङसँगै घरेलु बक्स अफिसमा आक्रामक ओपनिङ गर्ने देखिएको छ ।
फिल्मको एडभान्स टिकट बुकिङमा दर्शकको अनपेक्षित आकर्षण देखिएको हो । हरेक हलमा फिल्मको बुकिङ आक्रामक भइरहेको छ । दीपेन्द्र के खनाल निर्देशित फिल्मलाई देशको सबैभन्दा ठुलो मल्टीप्लेक्स चेन क्यूएफएक्सले आफ्नो देशभरको स्टेसनमा ६५ शो बाँडेको छ । क्यूएफएक्सले काठमाडौँ उपत्यकामा ३० शोज उपलब्ध गराएको छ भने, उपत्यका बाहिर ३५ शो दिएको छ ।
यस्तै, आइएनआइ सिनेमाजले तीन स्टेसनमा १५ शो उपलब्ध गराएको छ । यसैगरी, वान सिनेमाजले दुई स्टेसनमा १३ शो, बिग मुभिजले ८ शो, विएसआर मुभिजले ६, एफक्यूबले ९ शोज दिएका छन् ।
फिल्ममा विपिन कार्की, स्वस्तिमा खड्का, सौगात मल्ल, रवीन्द्र सिंह बानियाँ, माओत्से गुरुङ, प्रकाश घिमिरे, लोकेन्द्र लेखक, मिस्श्री थापा, सजन थापा मगर, विभु पौडेल लगायतको अभिनय छ ।


























