काठमाडौँ । जनता समाजवादी पार्टी नेपाल स्थानीय तहको उपनिर्वाचनको परिणामले उत्साहित देखिन्छ । २०७९ को स्थानीय तहको चुनावमा पाएको सिटमा एक सिट थप्न सफल भएकोमा जसपा नेपाल उत्साहित देखिएको हो ।
उपनिर्वाचन भएका सिटमध्ये जसपा नेपालले २०७९ को निर्वाचनमा जितेको एउटा सिट पनि थियो । तर उपनिर्वाचनमा जसपा नेपालले दुई वटा वडा जित्दै एउटा थप्न सफल भएको हो ।
गत स्थानीय चुनावमा रौतहटको गढीमाई नागरपालिका वडा नम्बर ८ मा जसपा नेपालका निर्वाचित वडा अध्यक्षको निधन भएपछि त्यो ठाउँमा भएको उपचुनावमा आफ्नो विरासत जोगाउन नसके पनि जसपा नेपालले सप्तरीको डाक्नेश्वरी नगरपालिकाको वडा नम्बर १ र ४ को वडा अध्यक्ष जितेको छ ।
‘यो उपनिर्वाचनले जसपा नेपाल नाफामा रह्यो,’ सो पार्टीका महासचिव रामकुमार शर्माले भने, ‘उपनिर्वाचनले जसपा नेपाललाई उत्साहित बनाएको छ र संगठनका लागि अझै मेहनत गर्न अभिप्रेरित गरेको छ ।’
स्थानीय तहको उपनिर्वाचन परिणामले मधेस प्रदेशमा जसपा नेपाललाई मधेसी जनताले प्रमुख शक्तिकै रूपमा स्वीकार गरेको दाबी गर्दै महासचिव शर्माले बाँकी मधेस केन्द्रित दलहरू जनमत र लोसपा नेपाललगायतलाई पूर्णरुपमा अस्वीकार गरेको जिकिर गरे ।
जसपा नेपालको जन्म स्थानीय तहमा केही सिट, प्रदेश सभा र प्रतिनिधि सभा सदस्यमा सीमित रहनका लागिमात्र नभएर पहिचानसहितको समृद्ध संघीयता, समावेशी लोकतन्त्र, सामाजिक न्याय र समाजवादी व्यवस्था स्थापना गर्न भएको दाबी गर्दै उनले अहिले नै खुसी भइहाल्ने अवस्था नरहेको बताए ।