काठमाडौं । एसीसी प्रिमियर कप अन्तर्गत नेपालले लगातार दोस्रो जित निकालेको छ । शुक्रबार कीर्तिपुरस्थित टियु मैदानमा सम्पन्न खेलमा नेपालले ओमानलाई ८४ रनले पराजित गरेको हो । नेपालले आफ्नो ५० औं एकदिवसीय खेलमा ओमानविरुद्ध रोमाञ्चक जित निकाल्यो । नेपालले दिएको ३११ रनको लक्ष्य पछ्याएको ओमानले २२६ रन मात्र बनाउन सक्यो । ४६.३ ओभरमा नवौं विकेट गुमाएको ओमानका अन्तिम ब्याट्सम्यान घाइते भएका कारण क्रिजमा आउन सकेनन् ।
कीर्तिमानी लक्ष्य बनाउनका लागि नेपालका लागि कुशल मल्लले पहिलो शतकीय पारी खेले । कूल ६४ बल खेलेका मल्लले १० छक्का र नौ चौकाको सहयोगमा १०८ रन बनाए । खेलको सुरुआत निकै खराब भए पनि मध्येक्रमका ब्याटरले राम्रो साझेदारी गरेपछि नेपाल बलियो स्थितिमा पुगेको हो । दुवै ओपनर शून्य रनमा आउट भएपछि नेपालले खेलको २८औँ बलमा मात्रै खाता खोलेको थियो । तेस्रो विकेटका लागि कप्तान रोहितकुमार पौडेल र भीम सार्कीले ५४ रनको साझेदारी गरेका थिए । कप्तान रोहितले २३ रन बनाउँदा भीम ३३ रनमा आउट भए ।
पाँचौँ विकेटका लागि कुशल मल्ल र आरिफ शेखले ७५ रनको साझेदारी गरेका थिए । आरिफ २९ रन बनाउँदै आउट भएका थिए । यसैगरी सोमपाल कामीले ४८ बलमा ६३ रनमा अविजित रहे । सोमपाल कामीले ४९ बलमा ७ चौका प्रहार गरे । त्यस्तै करण केसीले १५ बलमा २९ रन बनाउँदै अविजित रहे । बलिङतर्फ ओमानका लागि आयान खानले दुई विकेट लिए भने बिलाल खान, कलिमुल्लाह खान, जिशान मकशुद, फायाज बट र जतिन्दर सिंहले समान एकरएक विकेट झारे । यसअघि नेपालले उद्घाटन खेलमा मंगलबार मलेसियालाई ६ विकेटले पराजित गरेको थियो ।
यसै खेलबाट नेपालका लेग स्पिनर सन्दीप लामिछानेले विश्व कीर्तिमान राख्न सफल बने । सन्दीपले ४२ खेलमा सय विकेटको लक्ष्य भेटाए । उनले अफगानिस्तानका बलर रासिद खानको ४४ खेलमा बनाएको सर्वाधिक छिटो विकेटको कीर्तिमान तोडेका हुन् । सबैभन्दा छिटो ओडीआईमा सय विकेट पूरा गर्ने खेलाडीको पहिलो नम्बरमा रासिद खान थिए । अब, सन्दीप पहिलो स्थानमा रहँदा रासिद खान दोस्रोमा झरेका छन् । यस्तै, अस्ट्रेलियाका मिचेल स्टार्क रहेका तेस्रो स्थानमा रहेका छन् । स्टार्कले ५२ खेलमा सय विकेट लिएका थिए ।


























