काठमाडौं । नेपाली कांग्रेसका नेता डा. शेखर कोइरालाले नेपालको अहिलेको अर्थतन्त्रको मेरुदण्ड भनेको विप्रेषण रेमिटेन्सबाट प्राप्त विदेशी मुद्रा भएको बताएका छन् । आइतबार प्रतिनिधिसभा बैठकमा बोल्दै रेमिटेन्सले अर्थतन्त्रलाई जोगाउनुको साथै श्रीलंका र पाकिस्तानको जस्तो संकट तर्फ जान पनि रोकेको बताएका हुन् ।
उनले भने, ‘हामी सवैलाई थाहा छ अहिले हाम्रो अर्थतन्त्रको मेरुदण्ड भनेको विप्रेषण अर्थात रेमिटेन्सबाट प्राप्त विदेशी मुद्रा भएको छ । यसले हाम्रो अर्थतन्त्रलाई जोगाएको मात्र छैन हामीलाई श्रीलंका र पाकिस्तानको जस्तो संकट तर्फ जान पनि रोकेको छ । देशको अर्थतन्त्रलाई चीरकाल सम्म विप्रेषणको माध्यमवाट चलाउन र जोगाउन सम्भव छैन भन्ने शिक्षा लिएर वैकल्पिक आय र राजश्वका क्षेत्रहरुलाई खोज्नु श्रेयश्कर हुनेछ । संसार जुन ढंगले तनाव, गुटबन्दी र सामरिक द्वन्दको चपेटामा पर्दैछ त्यसले हाम्रो विप्रेषणको प्रवाहलाई ढिलोचाँडो असर निश्चित गर्नेछ ।’
उनले उद्यम गर्नेहरु हतास मनस्थितिमा देखिएको, कर तिर्नेहरु निराश रहेको, व्यापारिक शहरहरु उजाड देखिएको भन्दै मुलुक गम्भीर बिरामी भएको बताएका हुन् । संघीयताप्रति वितृष्णा चुलिँदो रहेको भन्दै नेता कोइरालाले यो राजनीतिक असफलताको पहिलो खुट्किलो भएको बताए । उनले अब ढिलो नगरी नागरिकको चाहना अनुसार संसद, सरकार र प्रतिपक्षी दलहरु एक ठाउँमा उभिनुपर्ने धारणा राखे ।


























