काठमाडौँ । नगद लुटपाटमा संलग्न रहेको अभियोगमा बागमती नगरपालिका-४ जिरायत बस्ने ४० वर्षीय राम बहादुर थिङसमेत ३ जनालाई सोमबार बिहान प्रहरीले पक्राउ गरेको छ । सिन्धुली भिमानबाट बर्दिबासतर्फ जाँदै गरेको ना.३ ख २८७६ नम्बरको बसमा सवार महोत्तरी बर्दिबास नगरपालिका-३ बस्ने ७० वर्षीय पुरुषको साथमा रहेको नगद ४ लाख ७० हजार रुपैयाँ सोही बसमा सवार अज्ञात समूहले महोत्तरी बर्दिबास नगरपालिका-३ कालापानीमा चोरी गरेको थियो ।
त्यसपछि बर्दिबासमा ओर्लिई धरानबाट नारायणघाटतर्फ जाँदै गरेको हाल अल्फाबेट नखुलेको ३३७७ नम्बरको बसमा चढी भागेको भन्ने सूचनाको आधारमा खोजी गर्ने क्रममा इलाका प्रहरी कार्यालय कर्मैयाबाट खटिएको प्रहरीले सर्लाही बागमती नगरपालिका-१२ पुतलीचोकस्थित कालिका होटलबाट लुटपाटमा संलग्न उनीहरूलाई नगद २ लाख २८ हजार ५ सय रुपैयाँ सहित पक्राउ गरेको हो । उनीहरूलाई आवश्यक अनुसन्धान तथा कारवाहीको लागि इलाका प्रहरी कार्यालय बर्दिवास महोत्तरी पठाइएको छ ।