काठमाडौं । काठमाडौं महानगरपालिकाको निर्देशनपछि धमाधम निजी संस्थागत विद्यालयहरूले विद्यार्थीहरूलाई छात्रवृत्ति प्रदान गरी नामावलीसहितको विवरण महानगरमा पठाउने गरेका छन् । महानगरपालिकाको शिक्षा विभागका अनुसार छात्रवृत्ति वितरणको विवरण दैनिक आउने गरेको छ ।
महानगरपालिकाले बारम्बार छात्रवृत्ति वितरणको लागि ताकेता गरे पनि अटेर गरेपछि गत मंगलबार विद्यार्थीलाई छात्रवृत्ति प्रदान नगर्ने ३४२ वटा निजी विद्यालयको नाम सार्वजनिक गरेको थियो । महानगरपालिकाले निजी विद्यालयले शैक्षिक सत्र २०८० मा कक्षा १० सम्मका विद्यार्थीहरूलाई उपलब्ध गराउने छात्रवृत्ति सम्बन्धमा वैशाख १० गते नै परिपत्र जारी गरेको थियो । जेठ १० गते गोरखापत्रमै सार्वजनिक सूचना जारी गरी जेठ १५ गतेभित्र छात्रवृत्ति वितरण गरी त्यसको जानकारी जेठ १६ गते कार्यालयमा पठाउन निर्देशन दिएको थियो। उक्त समयसम्म पनि छात्रवृत्ति वितरण गरी केही विवरण नपठाएपछि महानगरपालिकाले ती विद्यालयहरूको विवरण नै सार्वजनिक गरेको हो ।
महानगरपालिका शिक्षा विभागका प्रमुख शिक्षा अधिकारी सिताराम कोइरालाले अहिले धमाधम विद्यालयहरूले छात्रवृत्ति प्रदान गरी सो को विवरण विभागमा पठाउने गरेको जानकारी दिए । महानगरपालिकाले सूचना नै जारी गरेर र महानगर प्रमुख बालेन शाहले पनि सामाजिक सञ्जालमा विद्यालयहरुलाई जेठ २८ भित्र छात्रवृत्ति प्रदान गरी विवरण महानगरमा पठाउनू भनेका थिए ।
महानगरपालिका शिक्षा विभागका प्रमुख शिक्षा अधिकारी कोइरालाका अनुसार ५ सय ४ निजी विद्यालयहरूले छात्रवृत्ति वितरण गरी विवरण पठाएका छन् । अब १ सय ४ विद्यालयहरूको मात्रै बाँकी रहेको उनले जानकारी दिए । महानगरपालिकाले दिएको समयसीमा भने सकिइसकेको छ तर अहिले विद्यालयले विवरण पठाउँदै गरेकाले थप अन्य प्रकृया नथालिएको उनले बताए ।