पथरी । जिल्लाको ग्रामथान गाउँपालिका–५ कि सीता चौधरीलाई खाना पकाउने दाउरा जोहो गर्न हम्मेहम्मे पर्दछ । माटोले लिपेको घरका भित्ता, परालको छानो, सानो झुपडी त्यही झुपडीबाट निस्किएको कालोधुवाँसँगै उडेको छ सीताको दिनचर्या । बिहानीको झिसमिसेसँगै गाईवस्तुको गोबर उठाउनुपर्ने बाध्यता छ दक्षिणी मोरङका महिलाहरूको ।
सीता चौधरीको पाँच जनाको परिवार छ । उक्त परिवारका लागि खाना पकाउनैपर्ने बाध्यता छ सीतालाई । श्रीमानको सामान्य कमाइले ग्यास र दाउरा किन्न पुग्दैन । ‘ग्यास चलाउन सकिँदैन, जङ्गल पनि टाढा छ, वन समितिले संरक्षण गर्न थालेपछि दाउरा पनि पाइँदैन, गुइँठाको विकल्प नगरे आफैँलाई ग्राहो हुन्छ”, चौधरीले भनिन्, ‘ग्यास चलाउन नसक्नेले दाउराको विकल्प गुइँठा तयार गर्नु परेको छ ।’
ग्रामथान–५ कि सीता चौधरीको जस्तै व्यथा छ रङ्गेली आमगाछीकी ललिता नुनियाको । नुनिया हिउँद सुरु भएसँगै गोठको गोबर जम्मा गरेर गुइँठा बनाउन थाल्छिन् । काँचो गोबरलाई सनपाटको सुन्टीमा टाँसेर सुकाएपछि गुइँठा बन्ने गरेको छ । दक्षिणी मोरङमा यसैलाई दाउराको विकल्पका रूपमा प्रयोग गर्ने गरिन्छ । तराईको समथल उब्जाउयोग्य खेतबालीमा हाल्नुपर्ने गोबर गुइँठा बनाएपछि दक्षिणी मोरङका किसान खेतमा रासायनिक मल हाल्न बाध्य छन् । गोबरलाई मलका लागि खेतमा हाले दाउराको समस्या हुने उनको भनाइ छ ।
दक्षिणी मोरङको रङ्गेली, सुनवर्षी, ग्रामथान, रतुवामाई र कटहरी क्षेत्रका निम्नवर्गका परिवारका महिलाले खाना पकाउने दाउराका रुपमा गुइँठा नै प्रयोग गर्ने गरेका छन् । गुइँठा बाल्दा निस्किएको धुवाँले आँखा र स्वास्थ्यमा समस्या देखिएको छ ।
ग्रामथान–५ कि सीता चौधरी र आमगाछी कि नुनिया जस्तै यस क्षेत्रका गृहिणीको दिनचर्या हो गोठबाट गोबर सङ्कलन गरेर गुइँठाको दाउरा बनाउनु । दक्षिणी मोरङका अधिकांश बासिन्दा गोबर सङ्कलन गरी सुन्ठी, बाँस, परालका टुक्रा मिसाएर दाउरा बनाउने गर्दछन् । बनाएका दाउरा सुकाएर खाना बनाउन प्रयोग गरिने स्थानीयवासी बताउँछन् ।
मोरङको उत्तरी क्षेत्रमा घना जङ्गल भए पनि दक्षिणी मोरङमा भने दाउराकै लागि गोबर प्रयोग गर्नुपर्ने बाध्यता बनेको छ । दाउराको अभावमा गोबरलाई मलका रूपमा नभई दाउरा बनाएर खाना पकाउनुपर्ने बाध्यता रहेको स्थानीय परमेश्वर नुनियाले बताइन् । खेतमा प्रयोग गर्नुपर्ने गोबर मल दाउराका रूपमा प्रयोग हुँदा खेतमा मलको अभाव भएको छ भने स्वास्थ्यसम्बन्धी समस्यासमेत मानिसमा देखिन थालेको छ ।
गोबर मल खाना बनाउन प्रयोग गर्नुपर्ने भएपछि यस क्षेत्रका किसानले रासायनिक मलको प्रयोगमा जोड दिँदै आएका छन् । कृषकले बारिमा लगाउने गोबरलाई गुईठा बनाउन प्रयोग गर्नाले ५० प्रतिशत मलको अभाव र रासायिनक मलको प्रयोगले थप ५० प्रतिशत माटो बिग्रिएको कृषि ज्ञान केन्द्र मोरङका प्रमुख रामदेव सिंहले बताए । उक्त क्षेत्रमा दाउराको सहजता मात्र हुने हो र रासायनिक मलको ठाउँमा आफ्नै बारीमा उत्पादन हुने प्राङ्गारिक मल प्रयोग गरे उत्पादनमा वृद्धि हुने उनको भनाइ छ ।


























