काठमाडौं । अनुयायी बेपत्ता पारेको अभियोग लागेका रामबहादुर बम्जनलाई प्रहरीले जिल्ला अदालत, सर्लाही उपस्थित गराएको छ ।
जिल्ला प्रहरी कार्यालय, सर्लाहीका एसपी प्रविण धितालका अनुसार, केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी) को टोलीले उनलाई बुधबार राति नै सर्लाही ल्याएको थियो ।
अदालत खुल्ने वित्तिकै उनलाई हाजिर गराइएको प्रहरीले जनाएको छ । अदालतमा उनविरुद्ध थुनछेक बहस हुनेछ ।
ब्यूरोले मंगलबार साँझ बम्जनलाई बूढानीलकण्ठको हात्तिगौंडाबाट पक्राउ गरेको थियो ।
ललितपुरमा पत्रकार सम्मेलन गरेर पहिलो पटक ३० भदौ २०७५ मा रौतहटकी एक किशोरीले आफूमाथि बम्जनले बलात्कार गरेको दाबी सार्वजनिक गरेकी थिइन् ।
सुरुमा उनले दबाबका कारण जाहेरी दिन सकेकी थिइनन् । केही महिनापछि यो प्रकरण चर्चामा आइरहेका बेला पीडित भनिएकी किशोरीले जिल्ला प्रहरी कार्यालय, सर्लाहीमा उजुरी दिएकी थिइन् । त्यही आधारमा २०७६ सालमा पक्राउ पूर्जी लिएर प्रहरीले उनको खोजी थालेको थियो ।