काठमाडौँ । प्रमुख राजनीतिक दलका शीर्ष नेताहरू भरतपुरमा हुने कार्यक्रमका लागि चितवन पुगेका छन् । भरतपुर भ्रमण वर्ष २०२४ को उद्घाटन समारोहमा सहभागी हुन प्रधानमन्त्री तथा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’देखि पूर्व प्रधानमन्त्रीहरू शेरबहादुर देउवा, एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपाल, नेता झलनाथ खनाल, र मन्त्रिपरिषद्का पूर्वअध्यक्ष खिलराज रेग्मी चितवन पुगिसकेका हुन् ।
त्यस्तै पूर्व प्रधानमन्त्री तथा नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली पनि शुक्रवार दिउँसो भरतपुर पुग्दैछन् । दिउँसो १ नारायणी नदी किनारमा उद्घाटन हुने उक्त कार्यक्रममा प्रधानमन्त्री प्रचण्ड, पूर्व प्रधानमन्त्री माधव नेपाल बिहीबार साँझ नै चितवन पुगेका थिए भने शेरबहादुर देउवा, खिलराज रेग्मी लगायतका नेताहरू शुक्रवार बिहान भरतपुर गएका छन् ।
भरतपुर महानगरपालिकाका प्रमुख रेणु दाहालको निम्तो मान्न नेताहरू भरतपुर गएका हुन् । कार्यक्रममा सहभागी हुन प्रहरी प्रमुख आइजीपी वसन्तबहादुर कुँवर पनि चितवन पुगिसकेका छन् । त्यस्तै चितवन क्षेत्र नं २ का प्रतिनिधिसभा सदस्य एवं पूर्व उपप्रधानमन्त्री रवि लामिछाने, उद्योग वाणिज्य महासङ्घका अध्यक्ष चन्द्र ढकाल, नेपाल उद्योग परिसङ्घका अध्यक्ष राजेश अग्रवाललगायतको पनि कार्यक्रममा उपस्थिति हुने आयोजकले जनाएको छ ।
नारायणी नदी किनारमा ५० हजारभन्दा बढीको उपस्थितिमा भ्रमण वर्षको उद्घाटन गर्ने तयारी गरिएको भरतपुर महानगरपालिकाका मेयर रेणु दाहालको भनाइ छ । भरतपुरको पर्यटकीय महत्वलाई स्वदेश र विदेशमा पुर्याउने लक्ष्यका साथ भ्रमण वर्षको आयोजना गर्न लागिएको हो ।