भोजपुर । जिल्लाको पौवादुङमा गाउँपालिका–१ मा रहेको अरुण डाँडा आन्तरिक पर्यटकको रोजाइमा परेको छ । गाउँपालिकाले पूर्वाधार विकाससँगै आवश्यक संरचना निर्माण गरेपछि पर्यटकीय क्षेत्रका रूपमा स्थापित भएको हो ।

सदरमुकामबाट नजिकको पर्यटकीय गन्तव्य भएकाले घुमघामसँगै सहरी जीवनशैलीको थकान मेटाउन यो ठाउँलाई आन्तरिक पर्यटकले रोज्ने गरेका छन् । गाउँपालिका र कोसी प्रदेश सरकारसँगको साझेदारीमा बुद्ध, शिव र एलम्बरको प्रतिमासँगै आवश्यक संरचना निर्माण गरेपछि यहाँ आउने पर्यटकको सङ्ख्या बढ्दै गएको गाउँपालिका अध्यक्ष किरण राईले बताए ।

अरुण डाँडालाई गाउँपालिकाको मुख्य पर्यटकीय क्षेत्रका रूपमा स्थापित गर्ने उद्देश्यले विस्तृत परियोजना प्रतिवेदन तयार गरेर यहाँ पूर्वाधार विकासको काम भइरहेको बताउँदै पर्यटकीय गन्तव्य भएसँगै पालिकाको आर्थिक विकासमा महत्वपूर्ण भूमिका निर्वाह हुने उनले विश्वास व्यक्त गरे।

“अरुण डाँडा र यहाँ पुग्ने संरचनाको विकासका लागि आवश्यक काम भइरहेको छ”, अध्यक्ष राईले भने, “यहाँको वृहत्तर विकास गर्न करिब ८० रोपनी क्षेत्रमा विविध संरचना विस्तार गर्ने लक्ष्य छ । यो ठाउँलाई पर्यटनसँग जोडेर गाउँपालिकाको दिगो आर्थिक विकास र आम्दानीको स्रोतका रूपमा स्थापित गराउने लक्ष्यसहित काम भइरहेको छ ।”

यहाँ आइपुग्ने सडक विस्तारसँगै पैदल मार्ग तथा विश्राम स्थल निर्माण गरिएको पौवादुङमा–१ का वडाध्यक्ष राजेन्द्र तामाङले बताए । यहाँबाट विभिन्न हिमश्रृङ्खलाका सुन्दर दृश्य, समथर फाँटको अवलोकनसँगै यहाँ रहेको मन्दिरमा पूजाआजा गर्न पर्यटकहरू आउने गरेका उनको भनाइ छ ।

“पर्यटकीय क्षेत्र अरुण डाँडाको धार्मिक पनि महत्व छ”, वडाध्यक्ष तामाङले भने, “यो स्थान घुम्न आउने मानिसका लागि प्राकृतिक सुन्दरका साथै मन्दिरमा भाकल गरी भाकल पूरा भएपछि पूजाआजा तथा दर्शन गर्न पनि आउने गरेका छन् ।” यहाँ आउने पर्यटकको यकिन तथ्याङ्क नभएपनि यसअघि दैनिक १०–१५ जना आउने गरेकामा पूर्वाधार विकास भएसँगै दैनिक २५–३० जना आउने गरेका उनले जानकारी दिए ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here