काठमाडौँ । बुधवार बेलायतका अस्पतालहरूमा डाक्टरहरूले हड्ताल सुरु गरेका छन् । यो बेलायतको नेशनल हेल्थ सर्भिस ९एनएचएस०को ७ दशकको इतिहासको सबैभन्दा लामो हड्ताल हुने बताइएको छ । परामर्शदाता भन्दा तल्लो तहका कनिष्ठ डाक्टरहरूले ६ दिनका लागि काम ठप्प गरेका छन् । बेलायत सरकारसँग तलब सुविधाबारे लामो समयदेखि चलिरहेको विवाद सल्टिनुको सट्टा बल्झिँदै गएपछि यो स्थिति उत्पन्न भएको हो ।

एनएचएसको लागि यो निकै व्यस्त समय हो । चिसोका कारण यतिबेला श्वासप्रश्वास र फोक्सोको संक्रमणसम्बन्धी बिरामीको चाप देशभरिका स्वास्थ्य संस्थामा बढेको हुन्छ । क्रिसमसअघि पनि डाक्टरहरूले तीन दिनको हड्ताल गरेका थिए । यो हड्तालमा कूल स्वास्थ्यकर्मीको आधा जति सहभागी भएको बताइएको छ । २०२४ को जनवरी एनएचएसको लागि अहिलेसम्मकै कठिन नयाँ वर्षको शुरुआत भएको बताइएको छ ।

जनवरी ३ को बिहान ७ बजे सुरु भएको हड्ताल जनवरी ९ मा सकिनेछ । सरकारसँग जारी वार्ता बिना निष्कर्ष टुङ्गिएपछि ब्रिटिस मेडिकल एसोसिएसनले डिसेम्बरमै बन्दको घोषणा गरेको थियो । मार्चयता बेलायतमा कनिष्ठ डाक्टरहरू कम्तिमा ७ पटक बन्द हड्तालमा उत्रिएका छन् । यो कदमको प्रधानमन्त्री ऋषि सुनक र अस्पताल व्यवस्थापन दुवैले आलोचना गरेका छन् ।

 

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here