काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेलाई तिहारपछि अनुसन्धानका लागि बुटवल लगिने भएको छ। बुटवलको सुप्रिम सहकारी ठगीको पुरक जाहेरीमा उनीसँग बयान लगायतका अनुसन्धानका लागि बुटवल लैजान लागिएको हो।
जिल्ला अदालत कास्कीले हिरासतमा राख्न दिएको म्याद बुधबार नै सकिएको छ। बिहीबारदेखि अदालत बन्द हुने भएकाले अब प्रहरीले अदालत खुलेकै दिन म्याद थपका लागि उपस्थित गराउनेछ।
जिल्ला अदालत कास्कीबाट म्याद थप गरिसकेपछि उनलाई बुटवल पठाउने तयारी भएको कास्की प्रहरीका एक अधिकारीले बताए। उनलाई सूर्यदर्शन सहकारी ठगीको आरोपमा काठमाडौंबाट पक्राउ गरेर कास्की लगिएको थियो।
कास्की प्रहरीले बयान सकेको छ। कास्कीमा पहिलो चरणको बयान सकिएकाले अब बुटवल पठाउने प्रहरीले जनाएको छ।
बयानका क्रममा रवि लामिछानेले सहकारीको रकम अपचलनमा आफ्नो संलग्नता अस्वीकार गरेका छन्। यसको सम्पुर्ण व्यवस्थापन जीबीले नै गरेको र आफूलाई यस बारेमा थाहा नभएको बताएका छन्।