काठमाडौँ ।  कोशी प्रदेशका मुख्यमन्त्री केदार कार्कीले निजी क्षेत्रलाई सरकार बाहिरको दोस्रो पक्षको रुपमा हरिने अवस्था अन्त्य नभएसम्म देशले आर्थिक समृद्धि हासिल गर्न नसक्ने बताएका छन्।द एशिया फाउण्डेशनको सहयोगमा नेपाल उद्योग वाणिज्य महासंघ कोशी प्रदेशले आयोजना गरेको कोशी प्रदेशको आर्थिक पाश्र्वचित्र सार्वजनिकीकरण कार्यक्रमा बोल्दै उनले यस्तो बताएका हुन्।

निजी क्षेत्रले उद्योग व्यवसाय गरेर रोजगारी सिर्जना गर्ने, आन्तरिक उत्पादन खपत गरी कृषिलगायतका प्राथमिक क्षेत्रको मूल्य अभिवृद्धिमा योगदान गर्ने तथा राजश्व तिरेर विकासका कामका लागि सरकारलाई स्रोत जुटाउने कार्य गर्ने हुनाले विकास र समृद्धिमा निजी क्षेत्रको योगदानको सबै पक्षबाट कदर हुनुपर्ने उनले बताए।कोशी प्रदेश सरकारले औद्योगिक सुरक्षा नीति भर्खरै जारी गरेको बताउँदै उनले २ अर्बभन्दा बढी लगानी भएका उद्योगका लागि आवश्यक परेमा उद्योग परिसरमा तैनाथ हुने गरी सुरक्षाकर्मी उपलब्ध गराउने बताए।

उनले कोशी प्रदेशमा लगानी गर्न चाहने कसैलाई पनि सरकारबाट संरक्षण नपाएको महसुस हुन नदिने प्रतिबद्धता जनाउँदै ढुक्क भएर लगानी गर्न आह्वानसमेत गरे।आर्थिक पाश्र्वचित्र निर्माण गरेकोमा उनले नेपाल उद्योग वाणिज्य महासंघ कोशी प्रदेशको प्रशंसा गर्दै उनले आर्थिक सामाजिक विकासको नीति निर्माणलाई तत्थ्यमा आधारित बनाउने पाश्र्वचित्रबाट महत्वपूर्ण योगदान पुग्ने बताए।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here