काठमाडौं – नेपाल संगीत तथा नाट्य प्रज्ञा प्रतिष्ठानका उपकुलपति शम्भु राईको सभाध्यक्षता तथा नेपाल प्रज्ञा प्रतिष्ठानका कुलपति भुपाल राईको प्रमुख आतिथ्यतामा नेपाल संगीत तथा नाट्य प्रज्ञा प्रतिष्ठान परम्परागत तथा शास्त्रीय सङ्गीत विभागद्वारा आयोजित शास्त्रीय संगीत प्रस्तुति कार्यक्रम ‘सास्त्रीय सङ्गीत संसारभर प्रासार, बिद्यार्थी युवाको ज्ञानको आधार’ भन्ने नाराका साथ काठमाडौंमा सम्पन्न भएको छ । महांकालस्थित श्री जनकल्याण माध्यमिक विद्यालयमा भएको कार्यक्रमको सह–आयोजक नेपाल शास्त्रीय संगीत समाज रहेको थियो । संगीत प्रस्तुति कार्यक्रममा शास्त्रीय रागमा आधारित चार ओटा साङ्गीतिक प्रस्तुति रहेको थियो । सुगमा गौतमको गायन शशांक सापकोटाको तबला वादन र यतिराज अधिकारीको भाइलिन वादनमा भिन्न षडज राग प्रस्तुत गरिएको थियो । नगेन्द्र विक्रम राईको बाँसुरी वादनमा मधुमद राग प्रस्तुत गरिएको थियो । जसमा नवराज गुरुङ तबलामा र गीता राई तानपुरामा हुनुहुन्थ्यो ।


यस्तै सानु तामाङको समूहले मधुवन्ती रागको प्रस्तुति दिएको थियो । गायनमा सानु तामाङ, तबलामा पारसमणी सुवेदी, तानपुरामा गायत्री राना मगर र हार्माेनियममा नवराज सापकोटा हुनुहुन्थ्यो । त्यसैगरी सन्तोषभक्त श्रेष्ठ र समूहले शुद्घ सारंग रागको प्रस्तुति दिएको थियो । जसमा सन्तोषभक्त श्रेष्ठ ईशाराज वादन, विदुरराज कर्णीकार तबलामा र तानपुरामा सिर्जना दुलाल रहनुभएको थियो । कार्यक्रममा झरना श्रेष्ठले भरत नाट्यंम र कुमारी नृत्य प्रस्तुत गर्नुभएको थियो । र अन्तिम प्रस्तुति स्वरूप जनकल्यान माविका विद्यार्थीहरूले रेशम फिरिरि बोलको गीतमा साङ्गीतिक प्रस्तुति दिनुभएको थियो ।


कार्यक्रममा बोल्दै नेपाल प्रज्ञा प्रतिष्ठानका कुलपति भुपाल राईले मानव सभ्यताको पुरानो कला सङ्गीत भएको बताउँँदै शास्त्रीय सङ्गीतमा समय सापेक्ष परिवर्तनको खाँचो रहेको र यसलाई शिक्षासँग जोड्न जरूरी रहेको बताउनु भयो ।


कार्यक्रममा मन्तव्य राख्दै उपकुलपति शम्भु राईले प्रज्ञा प्रतष्ठानले आगामी दिनमा आयोजना गर्ने कार्यक्रमलाई अझ व्यवस्थित र आम जनतासँगको पहुँचमा पुर्याउने बताउनु भयो ।
कार्यक्रममा बोल्दै नेपाल शास्त्रीय संगीत समाजका अध्यक्ष धनबहादुर गोपालीले कार्यक्रम विद्यालयमा सञ्चालन गर्नुको उद्देश्य शास्त्रीय संगीतबारे युवा पिढीलाई जागृत गर्नु रहेको बताउनु भयो । उनले नेपाल संगीत तथा नाट्य प्रज्ञा प्रतिष्ठान शास्त्रीय सङ्गीत विभाग र नेपाल शास्त्रीय संगीत समाजले संगीत परीक्षा सञ्चालन गर्ने तयारी गरिरहेको पनि जानकारी दिनुभयो ।
यस्तै शास्त्रीय संगीतकार विजय कुमार श्रेष्ठले कार्यक्रममा शुभकामना मन्तव्य राख्दै शास्त्रीय संगीतका वास्तविक साधकमा विशेष प्रकारको गुण हुने बताउँदै भन्नू भयो, ‘संगीतकारले संसार बिर्सन सक्छ, संगीतका वास्तविक साधक सधैं मानिसको मनमा बस्छन् । उहाँले अगाडि भन्नुभयो, ‘सफलतामा हतार गर्नु हुन्न, सगरमाथा चढ्दा जुन पाइला बढाइन्छ, त्यसलाई पछ्याउँदै ओर्लने हो, हतारमा हाम फाले कता पुगिन्छ थाहा हुन्न ।’
परम्परागत तथा शास्त्रीय सङ्गीत विभागद्वारा आयोजित शास्त्रीय संगीत प्रस्तुति कार्यक्रममा विभाग प्रमुख प्राज्ञ डक्टर राईले स्वागत मन्तव्य दिदै परम्परागत तथा शास्त्रीय सङ्गीतका प्रस्तुतिलाई गाउँ गाउँमा लैजाने योजना सुनाउनु भयो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here