काठमाडौं । नेपाली कांग्रेसका संसदीय दलका नेता उद्धव थापा कोशी प्रदेशको मुख्यमन्त्री नियुक्त भएका छन् । प्रदेश प्रमुख परशुराम खापुङले बिहीबार अपराह्न मुख्यमन्त्री नियुक्त गरेका हुन् ।
थापाले प्रदेशसभाका ४७ सदस्यको समर्थन आफूलाई रहेको भन्दै खापुङसमक्ष दाबी पेश गरेका थिए । थापाले आफ्नो दलका २९, माओवादी केन्द्रका १२, एकीकृत समाजवादीका चार, जनता समाजवादी पार्टीका एक प्रदेशसभा सदस्य र सभामुख बाबुराम गौतमको आफूलाई समर्थन रहेको भन्दै दाबी पेश गरेका थिए ।
थापाले शुक्रबार शपथ लिँदैछन्। मुख्यमन्त्री थापाले प्रदेश प्रमुख पर्शुराम खापुङसँग पद तथा गोपनीयताको शपथ लिनेछन् । शुक्रबार बिहान ९ बजे मुख्यमन्त्रीले शपथ लिने कार्यक्रम तय भएको छ। शपथ ग्रहणलगत्तै मुख्यमन्त्री उनले केही मन्त्री नियुक्त गर्ने तयारी समेत गरेका छन् ।