काठमाडौँ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ सँग एसियाली विकास बैंक (एडिबी) का उपाध्यक्ष इङमिङ याङले शिष्टाचार भेट गरेका छन् । प्रधानमन्त्री निवास बालुवाटारमा आज भएको भेटमा उनीहरूबिच नेपालको आर्थिक विकासका साथै आसन्न लगानी सम्मेलनका विषयमा छलफल भएको थियो ।

सो अवसरमा प्रधानमन्त्री प्रचण्डले लगानीका लागि नेपाल उपयुक्त गन्तव्य भएको बताउँदै भौतिक पूर्वाधार निर्माणमा एडीबीको महत्त्वपूर्ण लगानी रहेको बताए । उनले नेपालमा हुन गइरहेको लगानी सम्मेलनमा नेपालले प्रभावकारी एवं लगानीयोग्य आयोजनाहरू प्रस्ताव गर्ने जानकारी दिए । “सरकारले कानुनी एवं नीतिगत सुधार गरी लगानीका लागि उपयुक्त वातावरण सिर्जना गरेको छ,” प्रधानमन्त्री प्रचण्डले भने, “यो नेपालमा लगानीको उपयुक्त अवसर हो ।

” भेटमा एडीबीका उपाध्यक्ष याङले नेपालको रणनीतिक आयोजनामा लगानी गर्न एडीबी तयार रहेको उल्लेख गर्दै आगामी दिनमा नेपालमा थप लगानी गर्ने गरी बैंकले रणनीति तय गर्ने बताए ।  भेटमा प्रधानमन्त्रीका परराष्ट्र सल्लाहकार डा.रूपक सापकोटा एवं एडीबीका नेपालस्थित उच्च अधिकारीको पनि उपस्थिति रहेको थियो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here