सर्लाही । सर्लाहीको बागमती नगरपालिका–८, सोल्टीमा नहरले बगाएर एक बालकको मृत्यु भएको छ । बागमती नगरपालिका–१०, नयाँ बस्ती घर भई सोल्टी बजारमा डेरा गरेर पसल सञ्चालन गर्दै आउनु भएका अनिल विकका चार वर्षीय छोरा दीक्षान्तको नहरले बगाएर मृत्यु भएको हो । सोमबार दिउँसो पख पसलदेखि झन्डै दुई सय मिटर पूर्वतर्फ खेल्ने क्रममा एक्कासि बागमती सिँचाई आयोजनाको नहरमा खसेर बेपत्ता भएका बालकलाई केही बेरपछि स्थानीय र प्रहरी भएर उद्धार गरेका थिए ।

उनलाई भेनस अस्पताल बरहथवामा सामान्य उपचार गरी थप उपचारका लागि सरस्वती अस्पताल हरिवन ल्याउँदा चिकित्सकले मृत घोषणा गरेका इलाका प्रहरी कार्यालय बरहथवाले जनाएको छ । यसैबिच, हरिवनमा विद्यालयको फलामे गेटमा थिचिएर एक बालकको मृत्यु भएपछि स्थानीयले पूर्व–पश्चिम राजमार्गमा गरेको चक्काजाम सोमबार साँझबाट खुलेको छ ।

सोमबार बिहान हरिवन नगरपालिका–९, नयाँ रोडमा रहेको ज्ञान ज्योति आवासीय विद्यालयको पर्खालमा लगाइएको फलामे मूल गेट लडेर थिच्दा सोही विद्यालयमा यु केजीमा अध्ययनरत बागमती नगरपालिका–४, जिरायत निवासी आकाश बलका छोरा पाँच वर्षीय आयुषको मृत्यु भएको थियो । विद्यालयको लापरबाहीले बालकको मृत्यु भएको भन्दै स्थानीयले सोमबार अपरान्हपख नयाँ रोडमा पूर्व–पश्चिम राजमार्ग ठप्प पारेका थिए ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here