काठमाडाैं । नेकपा एमालेका सांसद् भीम आचार्यले विश्वकप क्रिकेट प्रतियोगिताका सवालमा क्यानका पदाधिकारीले गरेका गलत काम कारबाहीको छानबिन गर्न माग गरेका छन् ।
बुधबार बसेकाे प्रतिनिधिसभा बैठकमा उनले नेपाली खेलाडीको टोलीमा सन्दीप लामिछानेलाई १५ जनाको टिममा सहभागी नगराएर भिसा पाउनबाट वञ्चित गराएको तथा सपोर्टिङ १० जनाको टोलीमा डाक्टर पठाउनुपर्नेमा एक जना महिलालाई राख्दा आइसीसीले अस्वीकार गरेको बताए ।
उनले भने,‘केही दिनअघि प्रधानमन्त्री कार्यालयको लेटरप्याड दुरुपयोग गरेर विश्वकप हेर्न अमेरिका पठाइदिने भन्दै मानव तस्करीको कोसिस गरिएको कुरा प्रधानमन्त्रीको कार्यालयले रोकेको थियो । त्यो आरोप क्यानको नेतृत्वको मिलेमतोमा भएको भन्ने गुनासो आइरहेको छ ।’
विश्वकपमा नेपाललाई हराउन भइरहेको षडयन्त्रलगायतका गलत क्रियाकलापको निष्पक्ष छानबिन आयोग गठन गरेर कारबाही गर्नुपर्ने भन्दै संसद मार्फत सरकारको ध्यानाकर्षण गराए ।