काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले नेपालमा बनेका सवारी साधन दर्ता प्रक्रियाका लागि आवश्यक कानुनी प्रबन्ध मिलाउन निर्देशन दिएका छन् । आज बिहान प्रधानमन्त्री प्रचण्डले मुख्यसचिव शंकरदास बैरागीलाई नेपालमा बनेका सवारी साधन दर्ता प्रक्रियाका लागि आवश्यक कानुनको मस्यौदा छिट्टै अगाडि बढाउन तथा प्रोत्साहनको नीति ल्याउन निर्देशन दिएका हुन् ।
‘यात्री’ लगायतका नेपालमै उत्पादित सवारी साधनले दर्ता भई काम गर्न नपाएका समाचार सार्वजनिक भएपछि प्रधानमन्त्री प्रचण्डको ध्यानाकर्षण भएको हो । प्रधानमन्त्रीको निर्देशनलगत्तै मुख्य सचिव बैरागीले उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालयका सचिव मधु मरासिनीलाई तत्कालै नेपालमा उत्पादित सवारी साधनको दर्ता एवं प्रवर्द्धन सम्बन्धी कानुनको मस्यौदा बनाई पेश गर्न निर्देशन दिएका छन् ।
नेपालको पहिलो विद्युतीय मोटरसाइकल ‘यात्री’ ले दर्ताको प्रमाणपत्र नम्बर प्लेट पाउन नसकेपछि यात्रीका विकासकर्ता टिमनै विदेश पलायन भएका छन् । यात्री मोटरसाइकलका उत्पादक एवम् मुख्य विकासकर्ता अशिम पाण्डे, बत्सल पाण्डेसहितको टोली यतिखर नेपालमा मोटरसाइकलको उत्पादन हुन नसक्ने निष्कर्षका साथ चीन हानिएका हुन् ।