काठमाडाैं । बागमती प्रदेशका मुख्यमन्त्री बहादुरसिंह लामाले प्रदेश सभाबाट विश्वासको मत लिँदै छन् । उनले मुख्यमन्त्री नियुक्त भएको ७ दिनमा अर्थात आज प्रदेश सभाबाट विश्वासको मत लिन लागेका हुन् ।
नेपाली कांग्रेसका लामा एमालेसमेतको समर्थनमा साउन ९ गते मुख्यमन्त्रीमा नियुक्त भएका थिए ।
मुख्यमन्त्री लामाले विश्वासको मत लिने प्रयोजनका लागि पत्राचार गरेपछि प्रदेश सभाका सभामुख भुवनकुमार पाठकले आज दिउँसो ३ बजेका लागि बैठक आह्वान गरेका छन् ।
मुख्यमन्त्री लामाले नेपालको संविधानको धारा १६८ को उपधारा ४ तथा प्रदेश सभा नियमावली २०७४ को नियम १४३ को उपनियम १ बमोजिम विश्वासको मत लिनका लागि प्रस्ताव पेश गर्ने प्रदेश सभा सचिवालयले जारी गरेको सूचनामा उल्लेख छ ।
साउन १२ गते मात्रै सरकारलाई पूर्णता दिएका लामालाई आफ्नै दल कांग्रेसको ३७ र सत्ता साझेदार दल एमालेको २७ जना सांसद्को समर्थन छ ।