काठमाडौं । नक्कली शरणार्थी बनाएर नेपालीलाई अमेरिका पठाएको घटनामा जोडिएका पूर्वमन्त्री तथा नेकपा एमालेका सचिव टोपबहादुर रायमाझीलाई प्रहरीले पक्राउ गरेको छ ।
टोपबहादुरलाई भैरहवाबाट पक्राउ गरी काठमाडौं ल्याइँदैछ । ठगीको आरोपमा पक्राउ पूर्जी जारी भएपछि उनी फरार थिए । बुधबार नै पक्राउको तयारी गरिए पनि उनी रातभर फोन अफ गरेर लुकेका थिए । अन्तत प्रहरीले उनलाई पक्राउ गर्न सफल भएको छ । उनका छोरालाई हिजो नै पक्राउ गरी प्रहरीले काठमाडौं ल्याईसकेको छ । बुधबार नै विमानमार्फत काठमाडौं आउने तयारी भए पनि आफुलाई पक्राउ गर्न लागेको खबरपछि उनी टिकट रद्ध गरेर भागेका थिए ।
बुधबार काठमाडौं प्रहरीले जिल्ला अदालत काठमाडौंबाट रायमाझीका बाबुछोराविरुद्ध पक्राउ पुर्जी लिएको थियो । प्रहरीको अनुसन्धानमा भुटानी शरणार्थी बनाएर अमेरिका लैजाने भन्दै ८७५ नेपालीसँग १० देखि ५० लाखसम्म उठाउने गिरोहसँग राजनीतिक नेतृत्वको साँठगाँठ खुलेको हो ।