काठमाडौं । निजी क्षेत्रको दूरसञ्चार कम्पनी एनसेल आजियटाले प्रयोगकर्तालाई ९७० रेन्जमार्फत नम्बर उपलब्ध गराउने भएको छ । ९८० रेञ्जमार्फत नम्बर उपलब्ध गराउँदै आएको एनसेलले रेञ्जमा सिमकार्ड सकिएकोले ९७० बाट नयाँ नम्बर उपलब्ध गराउन लागेको हो ।
बिहीबार एक सूचना जारी गर्दै कम्पनीले अब ९७० बाट सुरु हुने मोबाइल नम्बर वितरण गर्ने जनाकारी दिएको छ । सूचनामा भनिएको छ, ‘यस एनसेल आजियाटा लिमिटेडले आफ्ना ग्राहकहरूको सुविधाका लागि नेपाल दूरसञ्चार प्राधिकरणद्धारा मिति २०७९/१२/६ मा स्वीकृति प्रदान गरिएको पत्र अनुसार ९७०xxxxxx देखि सुरू हुने नयाँ मोबाइल नम्बर सुचारू गर्न लागेको कुरा सहर्ष जानकारी गराउँदछौं ।’
एनसेलले नियामक नेपाल दूरसञ्चार प्राधिकरणबाट २०७० चैत ६ मा नयाँ नम्बरिङ रेन्जका लागि स्वीकृति पाइसकेको छ । यसअघि राष्ट्रिय नम्बर योजनाले जीएसएम अन्तर्गत एनसेललाई ९८०, ९८१ र ९८२ गरी तीन फरक रेञ्जमा नम्बर उपलब्ध गराएको थियो । यी सबैमा एक करोडका दरले नम्बर उपलब्ध छन् । यसको अर्थ कम्पनीसँग ९८ मा आधारित कूल तीन करोड मोबाइल नम्बर छ ।