काठमाडौं । ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालयसहित ६८ निकायमा रु एक अर्ब ५८ करोड १६ लाख ३६ हजार बराबरको बेरुजु छ । प्रारम्भिक प्रतिवेदन उपलब्ध गराएपछि रु २८ करोड ४३ लाख ९७ हजार फछ्र्योट गरिएपछि रु एक अर्ब २९ करोड ७२ लाख ३९ हजार बराबरको बेरुजु छ । सोमध्ये म्याद नाघेको पेश्की रकम रु नौ करोड ७२ हजार बराबर छ ।
सङ्गठित संस्था एवं समितिसमेत ११ निकायमा रु ३४ करोड ४५ लाख सात हजार बेरुजु रहेकामा प्रारम्भिक प्रतिवेदनपछि रु तीन करोड तीन लाख ४२ हजार फछ्र्योट भएको छ । यस्तै, म्याद नाघेको पेश्की रु १२ लाख ७२ हजार बराबर छ ।
मन्त्रालय र मातहतका कार्यालय तथा सङ्गठित संस्थासमेत ९१ निकायबाट कार्यसम्पादन गरी सेवा प्रवाह भइरहेको छ । त्यसमध्ये ७९ सरकारी कार्यालयको रु ४३ अर्ब ९३ करोड १५ लाखको लेखापरीक्षण सम्पन्न भएको छ । महालेखापरीक्षकको प्रतिवेदन अनुसार रु पाँच खर्ब ५५ अर्ब ९२ करोड २० लाख बराबरको लेखापरीक्षण गरिएको छ ।
पन्ध्रौँ योजनाअन्तर्गत आव २०७८/७९ सम्म कूल २६ लाख ४१ हजार हेक्टर कृषियोग्य भूमिमध्ये १५ लाख ३५ हजार हेक्टरमा सिँचाइ सुविधा पुर्याउने लक्ष्य राखिएमा १५ लाख ३१ हजार हेक्टरमा त्यस्तो सुविधा पुगेको छ । प्रतिवेदनअनुसार विद्युत् महसुल बक्यौता गत वर्षको तुलनामा यो वर्ष १० दशमलव १५ प्रतिशतले वृद्धि भई रु ४० अर्ब १२ करोड पुगेको छ ।