काठमाडौँ । पर्सामा क्रियाशील पत्रकारहरुको सहयोग हेतुले एक पत्रकार कल्याण कोषको स्थापना गरिएको छ । बुधबार पत्रकाहरुको अगुवाहरुको भेलाले गम्भीर समस्यामा परेका पत्रकारहरुका निम्ति कल्याण कोष स्थापना गरेको हो ।
स्वास्थ्य, क्षमता वृद्धिसहित कामको सिलसिलामा आइपर्ने हरेक समस्यामा पत्रकारहरुलाई सहयोग गर्ने हेतुले कोष स्थापना गरिएको बैठकमा सहभागी नेपाल पत्रकार महासंघका केन्द्रिय सदस्य केसी लामिछनेले बताए । उनका अनुसार ५० जना पत्रकारहरुको समूहले यो कोष स्थापना गरेका हो । कोषमा प्रत्येक पत्रकारले मासिक एक हजारका दरले रुपैयाँ जम्मा गर्ने नियम बनाइएको छ । त्यही नियम अनुसार आज कोष खडा भएको पहिलो दिन नै २७ हजार रुपैयाँ जम्मासमेत गरिएको मधेश प्रदेश पत्रकार महासंघका महासचिव श्याम बन्जाराले बताए ।
विशुद्ध क्रियाशील पत्रकारहरुको सहयोग गर्ने उद्देश्यले कल्याण कोषको स्थापना गरिएकोले जुनसुकै पार्टीकासंग विचार राख्ने पत्रकारहरु सदस्य बन्न पाउने जनाइएको छ । पत्रकारहरुको भेलाले आजै कोषको संयोजकमा निरञ्जन मिश्रालाई चयन गरेको छ । जसको सदस्यहरुमा राजन रौनियार, धनञ्जय मिश्र, मुस्कान श्रेष्ठ, राकेश साह, एस.के. चौरसिया र किरण सत्याल रहेका छन् ।