काठमाडौं । काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र शाहले प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डलाई स्थायी सरकार चाँडै गठन गर्न र टिकाउन सुझाव दिएका छन् । काठमाडौं महानगरपालिकाद्वारा आयोजित न्यायिक समितिको राष्ट्रिय सम्मेलनको उद्घाटन कार्यक्रममा शाहले केन्द्र सरकार टिकाउ नहुँदा स्थानीय तहहरूलाई समस्या परिरहेको भन्दै यस्तो बताएका हुन् ।
उनले भने, ‘स्थानीय सरकार पाँच वर्षका लागि हुन्छ । तर, उहाँहरूको सरकार टिक्दैन । यसले गर्दा स्थानीय तहलाई समस्या पर्छ । म प्रधानमन्त्रीज्यूलाई भन्न चाहन्छु, यसपालि चाहिँ सरकार केही समयलाई टिकिदिए हामीलाई समन्वय गर्न सजिलो हुने थियो । यसका लागि मैले हिजो पनि प्रधानमन्त्री, मन्त्रीज्यूहरूसँग अनुरोध गरेको थिएँ । आज पनि गर्छु । पहिले सार्वजनिक सम्पत्ति जोगाऊँ, खोलानाला जोगाऊँ, त्यसपछि लिपुलेक पनि जोगाउँला । आफ्नै पालिकामा न्याय प्राप्त होस्, न्यायका लागि ११ दिन हिँडेर काठमाडौं आउनु नपरोस् ।’
स्थानीय सरकार एक्लैले गर्न नसक्ने कामहरू धेरै हुने अनुभव आफुसँग भएको बालेनको भनाई थियो । काठमाडौं महानगरले बाग्मती सभ्यता जोगाउन खोजिरहेको भन्दै यसमा केन्द्र सरकारको सहयोगका लागि आशा राखेको समेत उनले बताएका छन् । उनले सरकार भनेको स्थानीय पालिका पालिकामा छ भन्ने अभाष दिलाउन सक्नुपर्ने समेत बताएका छन् ।