चितवन । राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेविरुद्ध मुख्य निर्वाचन अधिकृतको कार्यालयमा चार उजुरी दर्ता भएका छन् । उपनिर्वाचनका लागि चितवन निर्वाचन क्षेत्र नम्बर २ मा २४ जनाले मनोनयन दर्ता गराएकामा लामिछानेविरुद्ध चारजनाको उजुरी दर्ता भएको हो ।
तीनवटा उजुरी चितवन–२ मा उम्मेदवारी दर्ता गराएका अन्य उम्मेदवार र उम्मेदवारका प्रतिनिधिले दर्ता गराएका हुन् भने एउटा उजुरी काठमाडौंबाट ई–मेलमा प्राप्त भएको हो । उम्मेदवारका तर्फबाट परेको उजुरीमा मुख्य निर्वाचन अधिकृतको कार्यालयले बुधबारभित्र निर्णय लिनु पर्नेछ । मुख्य निर्वाचन अधिकृतको कार्यालयका अनुसार उम्मेदवारसमेत रहेका सन्तोष थापासहित जनकराज शर्माका प्रतिनिधि डमर पुरी र अम्बिका भट्टका प्रतिनिधि शिवहरि सुवेदीले कार्यालयमै पुगेर उजुरी गरेका हुन् । अर्को उजुरी भने युवराज सफलले इमेलबाट उजुरी गरेका हुन् ।
चितवन–२ मा दलबाट १२ र स्वतन्त्र १२ गरी २४ जनाको उम्मेदवारी दर्ता भएको छ । मंगलबार उम्मेदवारहरुको योग्यतामाथि दाबी/विरोध पेस गर्ने समय दिउँसो ३ बजेभित्र रवि लामिछानेका विरुद्ध मात्रै उजुरी दर्ता भएको मुख्य निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ ।


























