काठमाडौं– निकिला मिडिया नेटवर्कले ‘गीता एभियसन ग्यालेक्सि एक्सिलेन्स अवार्ड’ दोश्रो संस्करणको औपचारिक घोषणा गरेको छ ।कार्यक्रम व्यवस्थापन संघका महासचिव एवं निकिला मिडिया नेटवर्कका अध्यक्ष सोनितराज ढुङ्गेलको अध्यक्षता तथा वरिष्ठ संगीतकार शम्भुजित बाँस्कोटाको प्रमुख आतिथ्यतामा काठमाडौँको बालुवाटार स्थित टाइम्स स्क्वायर होटलमा पत्रकार सम्मेलन गरि उक्त समारोह घोषणा गरिएको हो ।
केही वर्ष यता सौन्दर्य प्रतियोगिता, फेशन शो राष्ट्रिय अन्तराष्ट्रिय शो एवं कार्यक्रमहरु आयोजना गरेर एक सफल ईभेन्ट आयोजकको रूपमा ख्याती कमाउदै आएको निकिला मिडिया नेटवर्कले लामो समयदेखि आ आफ्नो क्षेत्रमा तल्लिन भई समाज र देशका लागि अतुलनीय योगदान दिने अग्रज स्रष्टा, सर्जक, कलाकार, शिक्षाविद, पत्रकार, समाजसेवी, व्यवसायी लगायत विभिन्न क्षेत्रमा आवद्ध पेशाकर्मीहरुलाई उनिहरुले पुर्याएको योगदानको कदर गर्दै उक्त अवार्ड प्रदान गर्ने गरेको छ । सन् १९८७ मा आफूहरुले संचालन गरेको रियालिटी शो लाई सम्झिदै प्रमुख अतिथि बास्कोटाले अवार्डका किसिमहरु धेरै भएपनि ‘गीता एभियसन ग्यालेक्सि एक्सिलेन्स अवार्ड’ जस्तो महत्त्वपूर्ण अवार्ड र अन्य अवार्डमा धेरै फरक हुने बताए ।
कार्यक्रममा बोल्दै आयोजक संस्था निकिला मिडिया नेटवर्कका अध्यक्ष सोनितराज ढुङ्गेलले उक्त संस्थाले गरेको पहिलो संस्करणको ग्यालेक्सि एक्सिलेन्स अवार्डको भव्य सफलता पश्चात देश विदेशबाट आएका सकारात्मक प्रतिक्रिया एवं अवार्डको गरिमाका विषयमा भएका टिका टिप्पणीले आफूहरू थप उर्जावान भएको बताए । यस्तै, उनले उक्त अवार्डलाई विश्वको एक नम्बरमा दर्ज गर्ने उद्देश्यका साथ आफूहरू सकारात्मक भएर लागि परेको र त्यसमा सफल भएरै छाड्ने बताए ।
दोस्रो संस्करणको अवार्ड कार्यक्रम आगामी चैत १७ गते आयोजना गरिने आयोजकले जनाएको छ । पहिलो संस्करणको झै यस वर्ष पनि ३५ विधाका अवार्डलाई नै कायम राख्दै वितरण गरिने छ ।