काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टीकी सांसद डा.तोसिमा कार्कीले वीर अस्पतालमा तत्काल स्वास्थ्यकर्मीहरू नियुक्त गर्न माग गरेकी छन् । आइतबार प्रतिनिधिसभाको बैठकमा विशेष समयमा बोल्दै सांसद कार्कीले वीर अस्पतालमा स्वास्थ्यकर्मीको अभावमा सेवा प्रवाहमा समस्या भइरहेको भन्दै तत्काल स्वास्थ्यकर्मी नियुक्त गर्न माग गरेकी हुन् ।उनले वीर अस्पतालमा ८३१ जनाको दरबन्दी स्वीकृत पनि भइसकेको भन्दै करारमा अथवा लोकसेवामार्फत जुन प्रक्रियामा भए पनि तुरुन्त स्वास्थ्यकर्मी नियुक्त हुनुपर्ने बताइन् । उनले अघिल्लो स्वास्थ्य मन्त्रीले एकैपटक २७६ जना स्वास्थ्यकर्मीलाई वीर अस्पतालबाट निकालेर अस्पतालको सेवा नै अलपत्र पारेको भन्दै नयाँ स्वास्थ्य मन्त्रीले सेवामा सुधार ल्याउने विश्वास व्यक्त गरिन् ।

उनले भनिन्– ‘वीर अस्पतालप्रति स्वास्थ्य मन्त्रालयको अघिल्लो नेतृत्वको नजर नपुगेको होइन, उहाँको नजर पुग्यो तर उहाँले अस्पतालको व्यवस्थापन नै ध्वस्त हुनेगरी एकैपटक २७६ जना स्वास्थ्यकर्मीहरूलाई निकाली दिनुभयो र अस्पतालको सेवा अलपत्र पारिदिनु भयो । आशा छ यस पटकका स्वास्थ्यमन्त्रीको ध्यान पुग्नेछ र अस्पतालको सेवामा सुधार ल्याउनुहुनेछ । उनले कुनै वेबसाइटमार्फत अथवा कुनै माध्यमबाट देशभरका अस्पतालमा कस्ता कस्ता सेवाहरू दिइन्छन् र कति आइसियु बेड खाली छन् भन्ने हेर्न सकिने व्यवस्था गर्न समेत माग गरिन् ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here