पर्वत । गण्डकी प्रदेशका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले जनसेवालाई जतिसक्दो छिटो बनाउन गृह जिल्ला गोरखाका कार्यालय प्रमुखहरूलाई निर्देशन दिएका छन् । जिल्ला भ्रमणका क्रममा गोरखा पुगेका पाण्डेले बुधवार कार्यालय प्रमुखहरूलाई भेटेर नागरिकले एउटै कामका लागि पटक पटक कार्यालय धाउनुपर्ने बाध्यताको अन्त्य हुनुपर्ने बताएका हुन् ।
‘एउटै कामका लागि सर्वसाधारण पटक–पटक आउनुपर्ने, कार्यालय धाउनुपर्ने बाध्यता हामीले हटाउनुपर्छ’, उनले भने, ‘बरु सेवा छिटो र सहज बनाउन टाइम कार्ड लागू गर्नुहोस्। समयमै काम भएन भने जनतामा आक्रोश बढ्छ। व्यवस्थाप्रति नै वितृष्णा हुन सक्छ ।’ सरकारको सेवा प्रवाह झन्झटमुक्त हुनुपर्ने उनको भनाई छ। पाण्डेले सेवालाई प्रविधिमैत्री बनाउन कार्यालय प्रमुखहरूलाई निर्देशन दिएका छन्। प्रदेश सरकारले दैनिक सेवा प्रवाह झन्झट रहित बनाउन क्याबिनेटबाट निर्णय गरिसकेको उनको भनाई छ ।
पाण्डे मुख्यमन्त्रीको पद बहाली भएकै दिन यातायात क्षेत्रलाई व्यवस्थित गर्नका लागि सुझाव लिन कार्यदल गठन गरेका थिए।
उक्त कार्यदलले प्रतिवेदन बुझाइसकेको छ। दरबन्दी अनुसारको कर्मचारी नहुँदा काम गर्न समस्या भएको गुनासो प्रदेश स्थित कार्यालयका प्रमुखहरूले गरेका थिए।
गण्डकी प्रदेश सरकारले स्वास्थ्य क्षेत्रमा तत्काल कर्मचारी व्यवस्थापन गरेर अन्य कार्यालयमा पनि थप्दै जाने मुख्यमन्त्री पाण्डेले प्रतिबद्धता जनाएका छन् । सेवा दिँदा जनतालाई राजनीतिक विभेद नगर्न पनि उनको निर्देशन छ। उनले संरक्षण सहितको विकास र विकास मार्फत राज्य सञ्चालनको माध्यम निर्माण गर्नुपर्ने बताए । आगामी आर्थिक वर्षको बजेटमा शिक्षा, स्वास्थ्य, खानेपानी, कृषि, रोजगारी, पर्यटन लगायतका क्षेत्रलाई प्राथमिकतामा राखिने भएकोले योजना छनोट गर्दा ख्याल गर्न उनको आग्रह छ ।
यस्तै, विकास निर्माणका काम गर्दा ठेकेदारबाट हुने बदमासी रोक्न नियमित अनुगमन र ताकेता गर्न कार्यालय प्रमुखले चासो दिनुपर्ने उनको भनाइ छ । गोरखाका कार्यालय प्रमुखहरूले प्रदेशबाट छुट्टाउने योजना कम बजेटको हुँदा कार्यान्वयन प्रभावकारी नभएको र लागू गर्न झन्झटिलो भएको गुनासो राखेका थिए । प्रमुख जिल्ला अधिकारी दिनेशसागर भुसालले गोरखामा भएका समस्याका बारेमा मुख्यमन्त्री पाण्डेलाई जानकारी गराएका थिए। विपद्को पूर्व तयारीका लागि विशेष ध्यान दिन उनले मुख्यमन्त्री पाण्डेलाई आग्रह गरे ।