काठमाडौं । संघीय स्वास्थ्य तथा जनसंख्या मन्त्रालय मातहतका १७ अस्पतालले सेवामा सुधार गर्ने अभियान सुरु गरेका छन् ।
स्वास्थ्य तथा जनसंख्यामन्त्री प्रदीप पौडेलले संघीय अस्पताल तथा प्रतिष्ठान प्रमुखहरुसँग संयुक्त बैठक बसेर अस्पतालमा देखिएको भीडदेखि सेवालाई दुई सिफ्टमा थप गुणस्तर वृद्धि गर्न ९ बुँदे निर्देशन जारी गरेका थिए ।
एक महिनाभित्र भीड व्यवस्थापन गर्ने लक्ष्यअनुरुप हालसम्म रिपोर्ट प्राप्त सबै अस्पतालले सुधार भएको जानकारी पठाएको मन्त्रीको सचिवालयले जनाएको छ ।
संघ मातहतका १७ अस्पताल सबैले मन्त्रालयको निर्देशनअनुसार दुवै सिफ्टमा सेवा थालेका हुन् । संघीय राजधानी काठमाडौंको शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पताल टेकुले हरेक दिन बिहान ९ बजेदेखि दिउँसो ४ बजेसम्म दुई सिफ्टमा सेवा आरम्भ गरेको छ ।
अस्पतालले स्वास्थ्य बीमाका सेवाग्राहीलाई ९० प्रतिशत बढी औषधी आफ्नै फार्मेसीबाट वितरण थालेको जनाइएको छ । अस्पतालको शौचालयलगायत क्षेत्रमा सुधार भएको विवरण अस्पतालले दिएको छ ।
त्यस्तै, परोपकार प्रसूति तथा स्त्रीरोग अस्पतालमा जनरल ओपिडी सेवा एक ९ देखि ४ बजेसम्म थालिएको छ । यसका अलावा अपरेशन सेवामा एक घण्टा वृद्धि गरिएको रिपोर्ट अस्पतालले दिएको छ । भिड व्यवस्थापनका लागि अनलाइन टिकट प्रभावकारी देखिएको अस्पतालले जनाएको छ ।
यता, धरानस्थित बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानले ओपिडी सेवा दुई सिफ्टमा सञ्चालनका अतिरिक्त अस्पतालको सेवा अवधि थप गरेको छ । अस्पतालमा रेडियोलोजीका लागि बेग्लै काउण्टर खोलिएको छ । प्रतिष्ठानमा सेवा लिनका लागि क्युआरमार्फत भुक्तानी भैरहेको छ ।
राष्ट्रिय ट्रमा सेन्टर काठमाडौंले २४ सै घण्टा आकस्मिक शल्यक्रिया आरम्भ गरेको छ । अस्पतालले नियमित शल्यक्रियाका लागि भर्ना भएका बिरामीको एक हप्ता र ओपीडीका लागि एक महिनाभित्र शल्यक्रियाको पालो आउने व्यवस्था मिलाएको छ । स्वास्थ्य बीमाका औषधी पर्याप्त व्यवस्था गरेको अस्पतालले दुईवटा टिकट काउण्टर र अनलाईन पेमेन्ट सुविधा पनि दिएको छ ।
मनमोहन कार्डियोथोरासिक भास्कुलर तथा ट्रान्सप्लान्ट सेन्टरले ओपीडीको टिकट बिहान ११ः३० सम्म व्यवस्था गरेको छ । अस्पतालले दर्ता भएको एक महिनाभित्र नै शल्यक्रिया गर्ने व्यवस्था मिलएको छ । साथै, अनलाइनबाटै ल्याब रिपोर्ट लिने व्यवस्था पनि अस्पतालले गरेको छ ।
कान्ति बाल अस्पताल महाराजगञ्जमा आकस्मिक बाल उपचारका लागि ६ शैय्या तथा अब्जरभेसनका लागि २० शैय्या थप गर्ने प्रक्रिया आरम्भ भएको छ । अस्पतालमा भीड व्यवस्थापनका लागि टोकन प्रणालीलाई थप व्यवस्थित बनाइएको जानकारी अस्पतालले दिएको छ ।
पाटन स्वाथ्य विज्ञान प्रतिष्ठानले भीड व्यवस्थापनका लागि साधारण र शुल्क क्लिनिक प्रणाली व्यवस्थापन गरेको छ । डिजिटल बिल प्रणाली भदौ १ बाट थाल्ने अस्पतालले बिदाको दिनमा समेत ओपीडी र शल्यक्रिया थालेको छ ।
वीरगञ्जको नारायणी अस्पतालले शैय्या अभाव हटेको छ । अस्पतालमा स्वास्थ्य बीमाका औषधी पर्याप्त मौज्दान रहेको र भिड व्यवस्थापनका लागि टोकन प्रणाली र अनलाईन टिकट व्यवस्था गरिएको छ ।
बीपी कोइराला मेमोरिल क्यान्सर अस्पताल चितवन, सुशील कोइराला प्रखर क्यान्सर अस्पताल खजुरा, जीपी कोइराला श्वास प्रश्वास केन्द्र तनहुँ, वीर अस्पताल लगायतले पनि भीड व्यवस्थापन, सरसफाइ लगायतमा भएको सुधारबारे विवरण पठाएका छन् ।