काठमाडौँ । रगत नजम्ने वंशाणुगत समस्या हेमोफिलिया रोगका बिरामीलाई निःशुल्क औषधी उपलब्ध गराउन स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालय र विश्व हेमोफिलिया महासङ्घबिच सम्झौता भएको छ । गत माघ १० गते सरकारी अस्पतालमार्फत यस्तो सुविधा उपलब्ध गराउने स्वास्थ्य तथा जनसङ्ख्या मन्त्री प्रदीप पौडेलले निर्णय गरेका थिए ।

निकै महँगो औषधी आवश्यक पर्ने रोगको उपचारका लागि धेरै बिरामी तथा सरोकारवालामार्फत सरकारले आफैँ व्यवस्था गर्न सरकारलाई आग्रह गर्दै आएका थिए ।

अब महासङ्घबाट प्राप्त जटिल किसिमको वंशाणुगत तथा पछिसमेत देखिने यस रोगको उपचारका लागि आवश्यक औषधी अब स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले मातहतका सङ्घीय अस्पताल तथा प्रादेशिक अस्पतालका अलावा अन्य सरकारी अस्पतालबाट समेत उपलब्ध गराउनेछ ।

मन्त्री पौडेलले राज्य कोषमा भार नपर्ने गरी विश्व हिमोफिलिया महासङ्घबाट अनुदान प्राप्त गरी सरकारी अस्पतालबाट बिरामीलाई उपलब्ध गराउने निर्णय गरेको उल्लेख गरेका थिए ।

नेपालमा हाल करिब नौ सय जना यो रोगका बिरामीका रूपमा पहिचान भएका छन् । तर विश्व स्वास्थ्य सङ्गठनले नेपालमा पहिचान हुन नसकेका यस्ता करिब ५ हजार बिरामी रहेको अनुमान गरेको छ । २०७८ को जनगणनामा २.२ प्रतिशतमा अपाङ्गता देखिएका मध्ये ०.८ मा हेमोफिलिया भएको हुनसक्ने ठानिएको छ ।

सङ्घीय अस्पतालहरू सिभिल, वीर तथा कान्तिसँगै देशैभरका प्रादेशिक गरी १२ अस्पतालमार्फत औषधी उपलब्ध गराइने मन्त्रालयका प्रवक्ता डा. प्रकाश बुढाथोकीले बताए । यसका लागि ती अस्पतालका स्वास्थ्यकर्मीलाई प्रशिक्षण दिने मन्त्रालयको तयारी छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here